जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन्। मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए।
गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो। ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन्।
मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो।
सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो। यस्तै नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको थियो। कारागार कार्यालयहरुले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन्। सरकारको सूचनालाई बेवास्ता गरी फरार कैदीबन्दीलाई प्रचलित कानुनबमोजिमको कारबाही गरिने विभागको भनाइ छ।
कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार छ सय ४६ कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र पूर्वी रुकुममा कारागार छैनन्। रासस
36
Shares

प्रतिक्रिया