समाज


जेनजी आन्दोलनपछि सबै एआईजीको जिम्मेवारी हेरफेर, नयाँ चारैजना हेडक्वार्टरमा

जेनजी आन्दोलनपछि सबै एआईजीको जिम्मेवारी हेरफेर, नयाँ चारैजना हेडक्वार्टरमा

नेपालखबर
असोज २२, २०८२ बुधबार १८:३, काठमाडौँ

भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलनपछि नेपाल प्रहरीमा ब्यापक जिम्मेवारी हेरफेर भएको छ। हाल कार्यरत चार जना अतिरिक्त महानिरीक्षकको यही बीचमा जिम्मेवारी फेरबदल गरिएको छ। रिक्त चार पदमा पनि बढुवा सिफारिस भइसकेको छ। 

२३ गतेको घटना लगतै २४ गते एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। त्यसअघि उनी मानव स्रोत विभागमा थिए। 

त्यसपछि प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डा.मनोजकुमार केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा सरुवा गरिएको थियो। प्रहरी प्रधान कार्यालयकै कार्य विभाग र अपराध अनुसन्धान विभागमा रहेका दुई एआईजीलाई पनि सरकारले सरुवा गरेको छ। 

कार्य विभागबाट सिद्धिविक्रम शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन्। अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई मानव स्रोत विभागको जिम्मेवारी दिइएको छ। असोज १२ गतेको निर्णय अनुसार सरुवा भएका दुवै एआईजीले नयाँ जिम्मेवारी सम्हालेका छन्। 

यससँगै अब कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभाग रिक्त छन्। अब यी विभागमा हालै बढुवा सिफारिस भएका एआईजीहरुलाई पदस्थापन गरिनेछ। 

प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। १२ गते नै सिफारिस भएका उनीहरुको बढुवा निर्णय अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ। 

यसअघि सरकारले काठमाडौँ र ललितपुरका प्रहरी प्रमुख पनि हेरफेर गरिसकेको छ। काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी रमेश थापा र ललितपुर प्रहरी प्रमुखमा एसएसपी होबिन्द्र बोगटीले जिम्मेवारी पाएका छन्। 

जेनजी आन्दोलनपछि काठमाडौँमा क्षमतावान अधिकारीहरुलाई छानिछानि जिम्मेवारी दिइएको छ। बृत्तदेखि विभिन्न कार्यालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ। हालै मात्र सातदोबाटोका डीएसपी रामकुमार यादवलाई तानेर त्यहाँ पूर्णिमा चन्दलाई खटाइएको छ।

चन्द यसअघि काठमाडौँ प्रहरी परिसरमा कार्यरत थिइन्। यादवलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad