समाज


विपिन जोशीप्रति विमानस्थलमा श्रद्धाञ्जली (तस्बिरहरू)

विपिन जोशीप्रति विमानस्थलमा श्रद्धाञ्जली (तस्बिरहरू)

विशाल कार्की
कात्तिक ३, २०८२ सोमबार १५:४६, काठमाडौँ

इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव काठमाडौं ल्याइएको छ। 

विपिनको शव आज (सोमबार) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको शवमाथि राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिन्। साथै गृहम्नत्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायत मन्त्रीहरूले माल्यार्पण गरेर सम्मान प्रकट गरेका छन्।

विपिनलाई श्रद्धाञ्जली दिन मन्त्रीगण, उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, आफन्तलगायत उपस्थित भएका छन्।

विपिनको शवलाई विमानस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि नेपाली सेनाले कञ्चनपुरस्थित घर लग्नेछ।

शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी विपिनलाई श्रद्धाञ्जली दिइएको थियो। 

इजरायलको बेन गुरिओन विमानस्थलमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा इजरायली सरकारका प्रतिनिधि, तेल अभिभस्थित नेपाली राजदूतावासका अधिकारी, इजरेलमा कार्यरत नेपाली र हमास समूहद्वारा बन्धक बनाइएका व्यक्तिका परिवारका प्रतिनिधिलगायत सहभागी भएका थिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसीका बासिन्दा विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

यसैबीच २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परे। हमासले फालेको ‘ग्रिनेड’ फाल्दै साथी जोगाउने खोज्दा विपिनलाई हमासले बन्धक बनाएर गाजा पुर्‍याएको थियो।

किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। विपिनको मृत्यु पुष्टि भएसँगै हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad