समाज


सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

फाइल फोटो


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १५:५५, त्रिशूली (नुवाकोट)

स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्नमा समस्या भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन्।

फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहर फाल्न अवरोध गरेको धुनबेसी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले जानकारी दिए।

उनको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ।

ककनी गाँउपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाइदिएका जनाइएको छ। 

स्थानीयहरुले विसंं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन्।

उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको उनीहरुले गुनासो गरेका छन्। 

आफूहरुको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि प्रभावित क्षेत्रमा नै आउनुपर्ने माग गर्दै सिसडोल, कुँडुले, ढाँडेको सडकमा सयौँको सङ्ख्यामा स्थानीयहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।

स्थानीयले स्वःस्फूर्त रूपमा सङ्गठित भएर विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको फोहर विसर्जनको अवरोधमा ककनी र धुनबेसीँका जनप्रतिनिधि र दलीय प्रतिनिधिले पनि साथ दिएका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad