समाज


फाइल जलेकाले सीआईबीले बुझाएको नक्कली भुटानी शरणार्थी मुद्दाका अभियुक्त प्रहरीमै फिर्ता

असइ हुँ भन्ने खरेलले बुझेका थिए एक करोड ३० लाख
फाइल जलेकाले सीआईबीले बुझाएको नक्कली भुटानी शरणार्थी मुद्दाका अभियुक्त प्रहरीमै फिर्ता

उजिर कार्की
कात्तिक २३, २०८२ आइतबार २२:९, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त अदालतमा मुद्दा दायर भएको अढाई वर्षपछि पक्राउ परेका छन्। रौतहटको साबिक फतुवा हर्षाह ९ का ४२ वर्षीय निराजन भन्ने निरञ्जनकुमार खरेल पक्राउ परेका हुन्। 

सहप्रतिवादीहरूको सर्वोच्च अदालतबाट समेत थुनछेक आदेश सकिँदा उनलाई भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए। 

सीआईबीले उनलाई पक्राउ गरेर थुनछेक प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौँमा बुझाएको थियो। तर अदालतले आइतबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएर पठाइदिएको छ। 

जेनजी आन्दोलनमा नक्कली भुटानी शरणार्थीको फाइल पनि जलेका कारण उनको बकपत्र र थुनछेकको प्रक्रिया अगाडि बढ्न नसकेको अदालतले जनाएको छ। अब प्रहरीले फाइल तयार गरेर अदालत लैजाने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र अभियोजन काठमाडौँ प्रहरीले गरेको थियो। त्यतिबेला काठमाडौँ प्रहरी प्रमुख हालका उपत्यका प्रहरी कार्यालयका प्रमुखको जिम्मेवारीमा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की थिए। काठमाडौँ प्रहरी परिसर उपत्यका प्रहरी कार्यालय मातहत नै हो। 

त्यतिबेला यो मुद्दाको सुरुवात गरेर केही अभियुक्त पक्राउमा भूमिका खेलेका तत्कालीन अपराध अनुसन्धान कार्यालयका प्रमुख हाल एआईजी मनोजकुमार केसी सीआईबी प्रमुख छन्। उनी सीआईबी प्रमुख भएकै बेला अढाई वर्षदेखि फरार रहेका खरेललाई पक्राउ गरिएको हो। 

अब प्रहरीले आफूसँग भएको मिसिलको प्रतिलिपि तयार गरेर अदालत लैजानेछ। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ। सुरुकै अभियोगमा खरेलसहित ३० जनालाई प्रतिवादी बनाइएको थियो। 

तीमध्ये १८ जनालाई एक साथ अदालत उपस्थित गराइएको थियो। जसमा लक्ष्मी महर्जन मात्रै धरौटीमा रिहा भएकी थिइन्। बाँकी १७ जनालाई पुर्पक्षका लागि जिल्ला अदालत काठमाडौँले कारागार चलान गरेको थियो। तर तीमध्ये आधाभन्दा बढी उच्च र सर्वोच्च अदालतबाट छुटिसकेका छन्। 

२०८१ वैशाख १४ गते सर्वोच्च अदालतले उनीहरूको निवेदनमा सुनुवाइ गरेको थियो। जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, मुख्य बिचौलिया भनिएका सानु भण्डारी, केशव दुलाल, सागर राई र सन्देश शर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। 

जिल्ला र उच्च अदालतले थुनामा पठाएका गोविन्दकुमार चौधरी २० लाख र आङटावा शेर्पा ३० लाख रूपैयाँ धरौटीमा छुट्दा शमशेर मियाँलाई साधारण तारेखमा रिहा गरिएको थियो। कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अरु प्रतिवादीहरू भने उच्च अदालतबाट धरौटीमा रिहा भएका थिए। 

यही मुद्दामा पुरक अभियोग दर्ता गरिएका बेचन झा पनि थुनामै छन्। उनलाई जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश दिएको छ। उनले आफूलाई रिहा गर्न आदेश माग गर्दै दिएको निवेदन सर्वोच्च अदालतले २०८१ साउनमा खारेज गरिदिएको थियो। 

सानु भण्डारीले असइ हुन् भन्दै पैसा उठाउन पठाउँथे खरेललाई  
भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त भनिएका सानु भण्डारीको बडिगार्ड भएको बताउँदै रकम उठाउन खरेल विभिन्न स्थानमा पुगेको खुलेको थियो। सानु भण्डारीले खरेललाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असइ) हुन् भन्दै चिनाएका थिए। 

आफूलाई सरकारले असइको सुरक्षा दिएको देखाएर भण्डारीले सोझासिधालाई नक्कली भुटानी शरणार्थीको कागजात बनाएर अमेरिका पठाइदिने सपना बाँड्दै करोडौँ रूपैयाँ उठाएका थिए। तिनै समूहमा आवद्ध थिए खरेल। 

उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा रिहा भएका गोविन्दकुमार चौधरीले आफूले एक करोड ३० लाख रूपैयाँ सानु भण्डारीले भने अनुसार खरेललाई दिएको बयान दिएका थिए। उनले यति रकम बुझाइसकेपछि नक्कली भुटानी शरणार्थीको सूचीमा नाम आउने भनेर रकम मागेको बताएका छन्। 

आफू पनि शरणार्थी बनेर जान तयार भएका चौधरीले भने यही आश्वासन दिएर अरुसँग पनि रकम उठाइरहेका थिए। उनले २६ जनाबाट ५ लाख रूपैयाँका दरले पैसा उठाएर शरणार्थीको फाराम लिएर आएका खरेललाई बुझाएको बताएका थिए। 

तर सानु भण्डारीले निराजन खनाल भन्ने व्यक्ति आउँछ भन्दै खरेललाई पठाएको अनुसन्धानबाट खुलेको थियो। सोही प्रकरणमा खरेलविरुद्ध पनि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। 

जिल्ला अदालत काठमाडौँले जेनजी आन्दोलनको केही दिनअघि मात्रै बाँकी साक्षी बुझ्न आदेश दिएको थियो। अब अन्तिम सुनुवाइ सुरु हुन लाग्दा खरेल पनि पक्राउ परेका हुन्। अब प्रहरीले आफूसँग भएको फाइलसाथ अदालत लगेसँगै खरेलको थुनछेक प्रक्रिया अगाडि बढ्नेछ। यससँगै भुटानी शरणार्थी प्रकरणको फाइल पनि जिल्ला अदालत काठमाडौँमा पुनः तयार हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad