विशेष अदालतले घुस लिएको आरोप लागेका नवलपरासी जिल्ला अदालतका एक कर्मचारीलाई दुई लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाएको छ।
अदालतका कर्मचारी रामलखन बनियाले नवलपरासी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा भएको थुनछेक आदेशबाट पूर्पक्षका लागि थुनामा गएका प्रतिवादीहरूलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट धरौटीमा छुटाउँछु भनी घुस बापत दुई लाख रुपैयाँ लिएको अदालतको ठहर छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दामा बनियाको कसुर ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ३ (१) को कसुरमा सोही दफा ३ (१) ग बमोजिम एक वर्ष कैद र सोही दफा ३ (१) बमोजिम बिगो दुई लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको हो।
बरामद रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै भई अदालतको धरौटी खातामा रहेको र आयोगले फिर्ता लिने सरकारी रकम नै भएको हुँदा जफत भनिरहनु नपर्ने पनि अदालतले ठहर गरेको छ।
अर्का प्रतिवादी अर्जुन पन्थीका हकमा उनी र रामलखन बानिया अदालतकै कर्मचारी भएकाले उनीहरूबीच टेलिफोन संवाद हुनुलाई अदालतले अन्यथा भन्न सकिएन भनेको छ।
अदालतले अर्जुन पन्थीलाई आरोप दाबीबाट सफाइ दिएको छ।

प्रतिक्रिया