राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन्।
मंगलबार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताए।
उनले राजनीति भन्दा माथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख गर्दै सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मान्छेले मान्ने संस्था राजसंस्था नै रहेको बताए। आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरु रहनुपर्ने पनि बताए। राजनीतिक दलहरुले राज्य नै क्षयीकृत हुनेगरी गल्ती गरेको बताए।
उनले भने, ‘अब हामीले राजनीति भन्दा माथि, देशका सबै जातजाति, भाषाभार्षी, धर्मसंस्कृतिका मानिसहरुले एकताको प्रतिक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुनःस्थापित गर्नैपर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्र भनेको होइन, यो कुरा बुझ्नुपर्छ। हामीले लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई पनि स्थान दिनुपर्छ। आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरुलाई पनि समेटनुपर्छ। राजनीतिक दलहरुले हजारौँ गल्ती गरेका छन्। राष्ट्र, राज्य नै क्षयिकृत हुने गरेर गल्ती गरेका छन्।’
उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताए।

प्रतिक्रिया