त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको शैक्षिक पात्रोअनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रवधान नभएको जानकारी गराउँदै आफ्नो जिम्मेवारी कार्यान्वयनमा अवरोध नगर्न र वार्तामा आउन अध्ययनरत विद्यार्थी, शुभेच्छुक तथा सम्बन्धित सबैलाई आह्वान गरेको छ।
त्रिभुवन विश्वविद्यालय, रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी तालाबन्दी, हड्ताल, आगजनी र तोडफोडजस्ता गतिविधिले शैक्षिक पात्रो कार्यान्वयनमा गम्भीर असर पार्ने भएकाले यसो नगर्न अनुरोध गरेको हो।
‘त्रिभुवन विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको शैक्षिक पात्रोअनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रवधान नभएको बेहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ गुणस्तरीय उच्च शिक्षा तोकिएको शैक्षिकसत्र (वर्ष) भित्र उपलब्ध गराउने त्रिभुवन विश्वविद्यालयको महत्त्वपूर्ण जिम्मेवारीको कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्नु हुन अध्ययनरत विद्यार्थी, शुभेच्छुक तथा सम्बन्धित सबैमा त्रिभुवन विश्वविद्यालय हार्दिक अनुरोध गर्दछ।’
यस्तो छ पूरा विज्ञप्ति-
त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय
सूचना तथा जनसम्पर्क महाशाखा
त्रिभुवन विश्वविद्यालयको विभिन्न अध्ययन संस्थान तथा संकाय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा सञ्चालित शैक्षिक कार्यक्रमहरूमा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासहितको उपाधि तोकिएको शैक्षिकसत्रभित्र प्रदान गर्नु विश्वविद्यालयको दायित्व हो भने गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्नु विद्यार्थीहरूको अधिकार हो।
विश्वविद्यालयको परीक्षा व्यवस्थापनअन्तर्गत पर्ने रजिस्ट्रेसन, कक्षा सञ्चालन, परीक्षा फाराम संकलन तथा व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनलगायत शैक्षिक पात्रो कार्यान्वयनको महत्त्वपूर्ण पक्ष रहेका छन्। शैक्षिक तथा प्राज्ञिक निकायमा हुने तालाबन्दी, हड्ताल, आगजनी र तोडफोडलगायतका गैरप्राज्ञिक गतिविधिहरूले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर पार्दछ। तोकिएको शैक्षिकसत्र (वर्ष) भित्र विद्यार्थीहरूले उपाधि प्राप्त गर्न नसकेमा विद्यार्थीहरूले थप समय र लगानी खर्चनु पर्दछ।
अतः विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको शैक्षिक पात्रोअनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रवधान नभएको बेहोरा जानकारी गराइन्छ। यसर्थ गुणस्तरीय उच्च शिक्षा तोकिएको शैक्षिकसत्र (वर्ष) भित्र उपलब्ध गराउने त्रिभुवन विश्वविद्यालयको महत्त्वपूर्ण जिम्मेवारीको कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्नु हुन अध्ययनरत विद्यार्थी, शुभेच्छुक तथा सम्बन्धित सबैमा त्रिभुवन विश्वविद्यालय हार्दिक अनुरोध गर्दछ।

Shares

प्रतिक्रिया