काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो (शनिबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो भने बिहान ८:४५ बजे केही घटेर ६.९ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समय (बिहान ८:४५ बजे) आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेभन्दा थोरै घट्ने सम्भावना हुन्छ।
अस्ति शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो।
गत पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम क्रमश: बढ्दै हिजो (माघ २४ गते) झन्डै ७ डिग्री सेल्सियसमा उक्लिएको छ। आज (माघ २५ गते) यसभन्दा पनि माथि पुग्ने देखिएको छ।
मौसमविद्का अनुसार जाडो याम (विन्टर) अन्त्यतिर पुग्दा काठमाडौँसहित देशभर नै तापक्रम बिस्तारै बढ्दो क्रममा छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
शनिबार यस्तो थियो देशका विभिन्न स्थानको तापक्रम विवरण

नेपालको मौसम ४ भागमा वर्गीकरण
मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ : प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।
जसमध्ये प्रि-मनसुन ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ भने त्यसपछि मनसुन सुरु हुन्छ।
मनसुन ४ महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ। मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ।
मौसमविद्का अनुसार पोस्ट-मनसुन सिजन अक्टोबर र नोभेम्बर २ महिना रहन्छ।
यसपछि डिसेम्बरदेखि विन्टर अर्थात् हिउँद लाग्छ र यो सिजन ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ।
यसपछि मार्चमा फेरि प्रि-मनसुन सुरु हुन्छ। मेमा यो सिजन सकिएर जुन महिनादेखि फेरि मनसुन लाग्छ।
यस वर्ष मनसुन औसत मिति (जुन १३) भन्दा १५ दिनअगाडि (मे २९) नै प्रवेश गरेको थियो भने बाहिरिँदा पनि सरदर मिति (अक्टोबर २) भन्दा ८ दिन ढिला अक्टोबर १० (असोज २४) मा बाहिरिएको थियो।
Shares

प्रतिक्रिया