आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुरुवाती मापन बिहान ५:४५ बजे ७.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम आधिकारिक मापन बिहान ८:४५ बजे ७.२ डिग्री सेल्सियसमा झरेको हो।
हिजो (सोमबार) सुरुवाती मापनमा ८.६ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम पछि आधिकारिक मापनका बेला ८.५ डिग्री सेल्सियस कायम भएको थियो।
यस्तै आइतबार सुरुवाती मापनमा ९.४ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पछि आधिकारिक मापनका बेला बिहान ८:४५ बजे केही घटेर ८.८ डिग्री सेल्सियस कायम भएको थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे र पछि फेरि बिहान ८:४५ बजे मापन गर्ने गरेको छ। पछिल्लो मापन नै आधिकारिक मापन हो।
मौसमविद्का अनुसार तापक्रम तलमाथि भइरहन्छ। राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
त्यसो त जाडो याम सकिने बेला भएकाले देशभर तापक्रम क्रमश: बढ्दो क्रममै रहेको मौसमविद्ले बताएका छन्।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् तापक्रम सूची (नोट : न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

Shares

प्रतिक्रिया