आज बिहान रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ।
घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ।
‘हामीले अहिलेसम्म घटनास्थलबाट १७ जनाको उद्धार गरेर अस्पतालमा पठाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर राजन अधिकारीले नेपालखबरसँग भने, ‘अहिले पनि गोताखोर पानीभित्र पसेर यात्रु खोजिरहेका छन्।’
उनले घटनास्थलबाट केही गम्भीर घाइते र केही सामान्य घाइतेको उद्धार गरिएको जानकारी दिए।
यात्रुको उद्धारको लागि सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन बेश खुर्कोट सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ। उनीहरू अहिले पनि पानीमा डुबेको बसमा यात्रु खोजिरहेका छन्।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाको लागि छुटेका प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाट नजिकबाट तामाकोसी नदिमा खसेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनमा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूको नाम खुल्न बाँकी छ।
मंगलबार बिहान करिब पौने ११ बजे बस सडकबाट झण्डै २० मिटर तल तामाकोसी नदिमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन्। बसमा कतिजना सवार थिए अझै खुलेको छैन।
सुरुमा प्रहरीले १३ जना यात्रु बसमा रहेको बताएको थियो। तर, इन्सपेक्टर अधिकारीले नेपालखबरसँगको कुराकानीमा अहिलेसम्म १७ जनाको उद्धार गरिएको बताएका छन्। यसले पनि बसमा यात्रुको संख्या प्रहरीले सुरुमा भनेको भन्दा धेरै रहेको अनुमान गरिएको छ।
काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस मन्थली नजिक पुगेपछि दुर्घटनामा परेको छ। अरनिको यातायातको बस सिन्धुलीको खुर्कोटबाट झण्डै तीन किलोमिटर अगाडि रामेछापको मन्थलीतर्फको सडकबाट तामाकोसी नदीमा खसेको हो।
प्रहरीकाअनुसार बस रामेछापको मन्थली, धोबी, सिरिसे हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो।
खुर्कोट-मन्थली सडक खण्डको लिलौती पहराबाट बस नदीमा खसेको हो।
Shares

प्रतिक्रिया