काठमाडौँको शेषमतीमा कस्तुरी मृगको बिना बेच्न खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको बिदुर नगरपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर – ११ शेषमती बस्ने ३९ वर्षका सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ का ३२ वर्षीय जितेन्द्र बहादुर चन्दलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
शेषमती एरियामा केही व्यक्तिहरूले बन्यजन्तु कस्तुरीको बिनाको ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले तारकेश्वर नगरपालिका–११ नेपालटार शेषमती स्थित सडकबाटोमा हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको शरीर खानतलासी गर्दा सरोज परियारको साथबाट ३० ग्राम तौल भएको कस्तुरी मृगको बिना जस्तो देखिने बास्नादार बस्तु (आखेटोपहार) फेला परेको प्रहरीले जनाएको छ।
उनीहरू उपर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको छ।
पक्राउ परेका जितेन्द्र २०७५ मंसिर १७ गते प्रहरी बृत्त बालाजुमा डाँका चोरी मुद्दामा फरार रहेको र २०८१ वैशाख २७ गते प्रहरी वृत्त महाराजगञ्जमा बैकिङ कसुर मुद्दामा फरार रहेको पाइएको छ।
यस्तै, पक्राउ परेका परियार पूर्वसैनिक हुन्।
Shares

प्रतिक्रिया