ललितपुरमा गएराति भएको ट्रक दुर्घटनामा ज्यान गुमाउने एक पुरुषको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेतिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
लेलेबाट ईँटा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको मिश्रले जानकारी दिए।
दुर्घटनमा गम्भीर घाइते भएका काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ८ घर भएका ५५ वर्षीय गोपी कार्कीको उपचारका क्रममा गएराति पाटन अस्पतालमा मृत्यु भएको हो।
मृतक अर्का एक पुरुषको अझै सनाखत भएको छैन, गौतमले नेपालखबरसँग भने। मृतकहरु कामदार हुन्।
घटनाको खबरपछि इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट प्रहरी वरिष्ठ नायव निरीक्षक कान्छामान तामाङको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
पछि प्रहरी बृत चापागाउँबाट पनि प्रहरी नायव उपरीक्षक शिला थापाको कमाण्डमा ११ जनाको प्रहरी टोली गएर मृतक र घाइतेको उद्धार गरेको एसपी मिश्रले जानकारी दिए। दुर्घटनामा परेको मिनि ट्रक अहिले घटनास्थलमै छ।
घटनास्थल कोन्ज्योसोम इलाका प्रहरी कार्यालयबाट करिब नौ किलोमटिर दक्षिणमा पर्छ।
मृतक चारै जनाको शव पोस्टमार्टमको लागि हाल पाटन अस्पतालमा राखिएको छ।
Shares

प्रतिक्रिया