समाज


काठमाडौँमा बढ्दो वायु प्रदूषण, सचेत रहन विज्ञको आग्रह

काठमाडौँमा बढ्दो वायु प्रदूषण, सचेत रहन विज्ञको आग्रह

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १३:३२, काठमाडौँ

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ भने सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन्।

हिजो मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज मध्याह्नसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ। 

योससँगै आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। 

भारतको दिल्ली २२९ एक्यूआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्यूआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ। 

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए। वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने सुवेदीको भनाइ छ। दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले बताए। 

वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, साथै वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ। ‘यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,’ उनले भनिन्। 

सुक्खा रहेमा अझ झन् प्रदूषण बढ्न सक्ने भन्दै समयमा नै सचेत हुन समेत पराजुलीले आग्रह गरिन्। ५० एक्यूआई राम्रो र ५१ देखि १०० सम्म सचेत रहनुपर्ने मानिन्छ। त्यसैगरी, १०१ देखि १५० एक्यूआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। 

यस्तै १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्यूआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ। यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युतीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति छ। साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख गरिएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad