समाज


चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

नेपालखबर
फागुन ७, २०८२ बिहिबार २१:१, चितवन

चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ। गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना आज सकिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम आज सकिएको छ। उनले भने, ‘तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो।’

उनका अनुसार पहिलो ब्लक त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो। पहिलो ब्लकलाई  २८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो। 

क्यामेरा उठाएपछि दोस्रो भागमा जडान गरी गणना सुरु गरिएको थियो । दोस्रो भागमा १३ क्याम्प बनाएर गणना गरिएको सूचना अधिकारी थापामगरले बताए। यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा, सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो। सो ब्लकलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो।

पर्सा राष्ट्रिय निकुञ्जलाई तेस्रो ब्लक वनाएर गणना गरिएको थियो। सो ब्लकमा ३३६ ग्रिड निर्माण गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए। उनका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर गणना गरिएको हो। एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो। चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको हो। दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो। 

‘अहिले क्यामेरा उठाएर ल्याउने क्रम जारी छ’, सूचना अधिकारी थापामगरले भने।

हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ। निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका थिए।

गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेका थिए। बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइन्छ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ बयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad