समाज


काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १६:१८, काठमाडौँ

काठमाडौँ उपत्यकाको वायुप्रदूषण घटिरहेको छ। आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ९९ पुगेको छ। 
 
गत मङ्गलबार उपत्यकाको एक्यूआई १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ। 

एक्यूआईका अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज १८औँ स्थानमा झरेको छ। हाल पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकात्ता १८६ एक्युआइसहित दोस्रो स्थानमा छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायुप्रदूषण घट्ने जानकारी दिए।

‘वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ’, उनले भने, ‘दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएका छौँ।’

वातावरणविद् भुषण तुलाधारले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए। 

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेंलो संकेत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्नसक्ने जानकारहरू बताउँछन्। १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad