कैलालीमा तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा तीनजना युवाको मृत्यु भएको छ। अर्का एक युवक गम्भीर घाइते भएका छन्।
शुक्रबार साँझ धनगढी–डडेल्धुरा सडक खण्ड अन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
मृत्यु हुनेमा सुप प्र०१-०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली, सुप प्र ०१-००९ प ७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र सोही मोटरसाइकलको पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको हो।
दुर्घटनामा सुप प्र०१-०१०३१८७ नम्बरको मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन्।
उनको धनगढीस्थित मायामेट्रो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर चन्दका अनुसार दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा थिए।
दुर्घटनामा परेका दुवै मोटरसाइकका पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन्।
दुर्घटनामा परेका योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए।
ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ।
शाहको मायामेट्रो, ओलीको नवजीवन र पार्कीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया