झापाको मेचिनगर नगरपालिका-९, धुलाबारीमा तपस्याधाम बनेको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय बुवा पशुराम शर्मा र आमा सावित्रा शर्माको नाममा दान गरेको पाँच कट्टा जग्गामा तपस्याधाम बनेको हो। ब्रह्माकुमारी राजयोग केन्द्र धुलाबारीले द्वादश ज्योतिर लिंगसहित निर्माण गरेको तपस्याधामको शनिबार उद्घाटन गरिएको छ।

भारतको राजस्थानस्थित मान्टआबुमा ओमशान्तिको कन्द्रीय आश्रमको डिजाइनमा तपस्याधाम निर्माण गरिएको स्थानीय पुनित बंशलले बताए। उनका अनुसार ओमशान्तिको संस्थापक दादा लेखराजको मुखबाट भगवान बोलेको स्थानजस्तै यहाँ पनि लेखराजको कुटी निर्माण गरिएको छ। लेखराजको समाधिस्थलमा निर्माण गरिएको शान्ति स्तम्भको कपी पनि बनाएको उनको भनाइ छ।
यस्तै शिव लिंगको आकारमा बनाइएको भवनमा १२ वटा ज्योतिर लिंगको स्थापना गरिएको छ। पहिलो तलामा लक्ष्मिनारायणको झाकी, दोस्रो तलामा गुम्बज संघन साधना कक्ष निर्माण गरिएको छ।

तपस्याधामको पाण्डप भवनमा ओमशान्तिको म्युजियम कक्ष, ध्यान कक्ष, सामुहिक ध्यान, कोर्स इत्यादिका लागि अत्याधुनिक सुविधायुक्त सभाकक्ष निर्माण गरिएको बंशलले बताए। साधकका लागि अथितिगृहको व्यवस्था छ भने ३० वटा कोठा रहेका छन्।
दुई वर्षअघि शिलान्यास भएको तपस्याधाम निर्माणमा करिब ६ करोड रुपैयाँ लागेको छ।



Shares

प्रतिक्रिया