आज पनि सुनको भाउ वृद्धि भएको छ। सुनको भाउ आज तोलामा २५ सय रुपैयाँ बढेको हो।
मूल्य बढेर सुनको भाउ आज तोलाको तीन लाख २८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ प्रतितोला ५६ सय रुपैयाँ बढेर तीन लाख २६ हजार एकसय रुपैयाँ पुगेको थियो।
गएको आइतबार पनि सुनको मूल्य तोलामा ५६ सय रुपैयाँ नै बढेको थियो।
गएका तीन दिनमा सुनको भाउ तोलामा १३ हजार सातसय रुपैयाँ बढिसकेको छ।
गत साताको सोमबारदेखि बिहीबारसम्ममा १० हजार सात सय बढेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर तीन लाख १४ हजार नौसय रुपैयाँमा झरेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने घटेको छ। तोलामा २०५ रुपैयाँ घटेर चाँदीको भाउ आज ५ हजार ८१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको ६ हजार २० पुगेको थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया