समाज


जानकी मन्दिरका महन्तले पाँच दिनमै कुरा फेरे, ढोंगीबाबा भन्दै कारबाहीको माग

जानकी मन्दिरका महन्तले पाँच दिनमै कुरा फेरे, ढोंगीबाबा भन्दै कारबाहीको माग

शैलेन्द्र महतो
बैशाख २९, २०७७ सोमबार १२:४०,

जनकपुरस्थित जानकी मन्दिरलाई हिन्दु धर्मावालम्बीहरुको आस्थाको केन्द्र एवं धरोहर मानिन्छ। पूर्जाअर्चना, दर्शन एवं अवलोकन भ्रमणका लागि दैनिक हजारौं श्रद्धालु भक्तजन एवं पर्यटक यहाँ आउने गर्दछन्। मन्दिर आउने हजारौं भक्तजनले प्रसाद एवं रुपैयाँ पैसा, सुनचाँदी भेटी चढाउने गरेका छन्।

वर्षको एकपटक मंसिर शुक्ल पञ्चमीमा भगवान राम र सीताको विवाहको स्मरणमा हुने सप्ताहव्यापी ‘सीताराम विवाहपञ्चमी महोत्सव’ जनकपुरको ठूलो पर्व हो। गुठीको अधीनमा रहेको जानकी मन्दिरको स्वामित्वमा सयौँ विघा जग्गा–जमिन रहेको छ। धेरै जग्गा जमिन तथा सम्पति मन्दिरका महन्त रामतपेश्वर दासले बचेर हिनामिना गरेको आरोप लाग्दै आएको छ।

मन्दिरमा चढ्ने भेटी र विभिन्न उत्सवमा प्रदेश सरकारलगायतका दाताबाट लिइने लाखौं रकमको कुनै हरहिसाब छैन। पटक–पटक जनकपुरको जानकी मन्दिरलाई ट्रस्टमा लगेर संरक्षण गर्नुपर्ने माग उठ्दै आएको छ। तर, महन्तको राजनीतिक पहुँच र चलखेलमा कुनै शक्ति काम लाग्ने अवस्थामा छैन। राजनीतिक पहुँचै आधारमा मन्दिरभित्र अनैतिक क्रियाकलाप र मन्दिर अधिनस्त सम्पतिमा अनियमितता गर्ने क्रम चलिरहेको छ ।

जानकी मन्दिरका महन्तलाई त्रेता युगका मिथिला नरेश राजा जनकको उपमा दिइन्छ। त्यसैले रामसीता विवाह महोत्सवमा मन्दिरका तर्फबाट राजा जनकको भूमिकामा महन्त रामतपेश्वर दास अथवा छोटे महन्त रामरोशन दास रहने गरेको यसको पुष्ट प्रमाण हो।

मन्दिरमा आउने भक्तजन भागवनकै स्वारुप मानेर महन्तको चरण स्पर्श गर्ने गर्दछन्। तर पछिल्लो समय मन्दिरभित्र हुने गलत क्रियाकलापले महन्त भगवान होइनन्, साधुको भेषमा ढोंगी, पाखण्डी एवं अनैतिक क्रियाकलाप गर्ने व्यक्ति हुन् भन्ने कुरा छर्लंग भएको छ।

यस्तो छ घटनाक्रम
प्रसंग हो वैशाख शुक्ल नवमीका दिन अर्थात बैशाख २० गते मन्दिरभित्रै मनाइएको जानकी नवमी र सो अवसरमा चढाइएको केकको। सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण का लागि लगाएको लकडाउनका कारण सामान्य रुपले मन्दिरभित्रै पूर्जाअर्चना गरी जानकी नवमी मनाइयो। सो अवसरमा केही श्रद्धालु भक्तजन मन्दिरमा चढाउनका लागि केक महन्तलाई दिए। छोटे महन्त रामरोशन दासले हातमा केक बोकेको तस्बिर समाजिक सञ्जालमा भाइरल नै बन्यो।

मन्दिरमै केक काटेर जानकी नवमी मनायो, पराम्परा बिगार्ने गलत गतिविधि अगाडि बढायो भन्दै आलोचनासहित महन्तको केकसहित तस्बिर समाजिक सञ्जालमा पोस्ट गर्दै कारबाहीको माग माग जोडतोडले उठेपछि उनले आफूले केक नकाटेको र श्रद्धालुले प्रसादका रुपमा चढाएको केक चढाएर उनीहरुलाई नै फिर्ता गरेको दावी गर्दै स्पष्टीकरण दिएका थिए।

छोटे महन्तमाथि महन्तको गम्भीर आरोप
केक प्रकरण सेलाउन नपाउँदै जानकी मन्दिरका महन्त रामतपेश्वरले एक स्थानीय एफएममा अन्तर्वार्ता दिए। सो अन्तरर्वार्तामा महन्तले मन्दिरका छोटे महन्त स्वाघोषित महन्त रहेको खुलासा गरे। समान्य चेलालाई पूजापाठ गर्नका लागि दिइएको अधिकार दुरुपयोग गर्दै रामरोशनले आफैँलाई छोटे महन्त घोषित गर्दै आफूलाई धम्काएर मन्दिरभित्र केटी नचाउनुका साथै ब्रह्मलुट मच्चाएको उनको आरोप थियो। महन्तले विवाहपञ्चमी लगायत विभिन्न उत्सवमा भारत मुम्बइका आफ्ना चेला तथा दाता पवन चौधरीले नै सबै खर्च दिने गरेको भए पनि छोटे महन्तले सरकारलगायत विभिन्न दाताहरुबाट मनपरी समिति बनाएर खाता खोलाएर पैसा लिने र अनियमितता गर्ने गरेको बताए।

‘स्वाघोषित उत्तराधिकारी महन्त रोशनले मेरो अनुमति बिना नै सबै काम आफ्नै ईच्छाले गर्छन्। मलाई त उसले कोसँग कति पैसा लिन्छ त्यसको कुनै जानकारी नै हुँदैन। प्रदेश र केन्द्र सरकारसँग पनि उनले पैसा मागेर ल्याउँछन्। तर, त्यो पैसाको कुनै लेखाजोखा हुँदैन। जबकि विवाहपञ्चमी, जानकी नवमीलगायतका पर्वहरुमा भारतको मुम्बईका मेरा चेला पवन चौधरीले सबै खर्च तिर्दै आएका छन्। रामरोशनले सबै पैसाको हिनामिना गर्दै आएका छन्। हरहिसाब माग्दा उल्टै धम्क्याउँछन्’ महन्त दासले भने।

उनले स्वघोषित उत्तराधिकारी रामरोशनले मन्दिरको मान मर्यादा हनन् गर्नुका साथै र प्रतिष्ठामा आँच आउने काम गरेको आरोप लगाए।

महन्त दासको सो अन्तर्वार्ताले जनकपुरमा तरंग पैदा गरिदियो। सुन्नेहरुले मन्दिरका दुबै महन्तमाथि छानविन गर्नुपर्ने, दोषी महन्तमाथि कारबाही गर्नुपर्ने, जानकी मन्दिरलाई ट्रस्टमा लैजानुपर्ने लगायतका माग गर्न थालेका छन्।

पाँच दिन नबित्दै महन्तले कुरा फेर्दै माफी मागे
अन्तर्वार्ता दिएको पाँच दिन नबित्दै महन्तले फेरि एउटा अर्को अन्तर्वार्ता दिँदै कुरा फेरेका छन्। उनले आफूले छोटे महन्तसँग मनमुटाव भएको आवेगमा उनीमाथि आरोप लगाएर चरित्र हत्या गरेको भन्दै गल्ती स्वीकार गरेका छन्।

रामरोशन दास छोटे महन्त नै रहेको र उसलाई आफैँले विभिन्न जिम्मेबारी दिएको महन्तले दोस्रो आन्तर्वार्तामा बताएका छन्।

‘सानैदेखि मेरो शिष्यको रुपमा रामरोशन दास छन्। मैले आफैँ जिम्मेबारी दिएपछि उनी मन्दिरको उत्तराधिकारी महन्तको कार्यभार हेर्न थालेका हुन्। पहिलको तुलनामा विवाहपञ्चमी लगायतका अन्य महोत्सव धुमधामसँग भएकाले रामरोशनले विभिन्न सरकारबाट पैसा लिने गरेको मलाई भन्ने गरेका छन्। उनको चरित्रमा कुनै सन्देह छैन’, अर्को अन्तर्वार्तामा महन्त दासले भने। पहिले छोटे महन्तमाथि गम्भीर आरोप लगाएका महन्त दासले दोस्रो अन्तर्वार्ताको भने उनको चरित्रलाई स्वच्छ बनाइदिएका छन्।

स्रोतका अनुसार महन्त दासले मन्दिरभित्र विभिन्न समयमा गरेका अनाधिकृत गतिविधिको भण्डाफोर हुने डरले समयमै उनले छोटे महन्तसँग सम्झौता गरी घटनाक्रमलाई उल्टो मोडेका हुन्।

महन्तले कुरा फेरेपछि ढोंगी बाबाको संज्ञा, कारबाहीको माग
महन्त रामतपेश्वरले कुरा फेरेपछि जनकपुरबासी उनीविरुद्ध खनिएका छन्। उनीहरुले महन्तलाई ढोंगी एवं पाखण्डी बाबाको संज्ञा दिँदै कारबाही गर्न माग गरेका छन्। समाजिक सञ्जालसमेत महन्तको आलोचनाले भरिएका छन्।

नाताकमा छोटे महन्त महन्त दासका भान्जा पर्छन्। मामाभान्जा मिलेर जानकी मन्दिरलाई तहसनहस बनाउन खोजेको सर्वसाधारणको आरोप छ। कतिपय व्यक्तिले बाबा रामतपेश्वरको मानसिक अवस्था ठीक नरहेको टिप्पणी गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साहले बाबाको मानसिक सन्तुलन ठीक नभएको आरोप लगाए।

८५ लाख रुपैयाँको चलखेलमा निजी घर बनाउन जानकी मन्दिरको फुलबारी अतिक्रमण गरेको प्रकरणमा पनि महन्तले कमिसन खाएको वडाध्यक्ष साहको आरोप छ। फुलबारी अतिक्रमण विषयमा महन्तले अतिक्रमण नभएको जिकिर गरेका थिए।

नेपाल पत्रकार महासंघ प्रदेश २ कि उपाध्यक्ष रिंकु मित्र गायत्रीले शक्तिको पिताको भूमिका निर्वाह गर्नेले शक्तिलाई नै गाली गरेपछि र कुरा फेर्न थालेपछि पनि जनकपुरबासी महन्तलाई मौका दिनु आत्महत्या गर्नु बराबर भएको टिप्पणी गरेकी छन्।

जनकपुरका युवा राकेशबिक्रम साहले मामाभान्जा मिलेर मन्दिरमा ब्रह्मलुट मच्चाएकाले यसबाट बचाउन मन्दिरलाई अभिलम्ब ट्रस्टमा लैजानुपर्ने माग गरेका छन्।

हुन त जनकपुरमा मन्दिर र कुटीको विषयमा महन्त तथा बाबाहरुको यस्तो हर्कत कुनै नौला र पहिलो होइन। जनकपुरका प्रसंगमा यो कुरा पुरानै परम्परा जस्तै हो। यसअघि रत्नसागर कुटीका महन्त बैकुण्ठदास हत्या, गुण्डागर्दी, सार्वजनिक सम्पतिको हिनामिना गरेको आरोप पुष्टि भएर अदालतले जेल सजाय सुनाएपछि फरार छन्। जनकपुरका कतिपय मन्दिरका महन्त र बाबाले गुठीका संयौ विघा जग्गा बेचेर हिनामिना गरेका छन् भने गर्ने क्रम जारी राखेका छन्। यसबारे गम्भीर छानविन हुन जरुरी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .