बाँकेको खजुरा गाउँपालिका ७ मा रहेको सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई स्थानीय एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।
बांँकेको सोनपुरका रफी भाटले स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की दिएका स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताए।
स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएको पौडेलको भनाई छ।
वैशाख २६ गते प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए।
घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले स्वास्थ्यकर्मीको ज्यान मार्ने धम्की दिएको हो। उनीहरुले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएका स्वास्थ्यकर्मीको भनाई छ।
स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने र ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गर्दै प्रहरीमा उजूरी दिएका छन्।
इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले स्वास्थ्यकर्मीले जीउज्यानको सुरक्षा गरी पाउँ भन्दै कार्यालयमा निवेदन दिएको जानकारी दिए। ‘हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने।

प्रतिक्रिया