समाज


मकवानपुरमा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षाका लागि गोली चलाउँदा एक घाइते

मकवानपुरमा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षाका लागि गोली चलाउँदा एक घाइते

सुनिता विष्ट
फागुन २८, २०८२ बिहिबार ९:२५, काठमाडौँ

हेटौंडा– मकवानपुरको मनहरीमा झगडा छुट्याउन गएको प्रहरी टोलीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको छ। आक्रमणबाट एक प्रहरी सहायक निरीक्षक (प्रसनि) घाइते भएका छन् भने प्रहरीको गोली लागेर एक आक्रमणकारी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरी झैझगडा भइरहेको सूचनाका आधारमा प्रहरी चौकी पदमपोखरीबाट टोली खटिएको थियो। प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा पुगेको टोलीले सोधपुछ गर्ने क्रममा स्थानीय युवाहरूले अचानक आक्रमण गरेका थिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले घटनाबारे जानकारी दिँदै भने, “टोली घटनास्थल पुगेर संलग्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले अचानक प्रहरी सहायक निरीक्षकमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी आक्रमण गरेका थिए।”

आक्रमणबाट प्रसनि तामाङको दुवै हातमा चोट लागेको छ। आक्रमणकारीले ज्यान लिने उद्देश्यले प्रहार गरेपछि आत्मरक्षाका लागि तामाङले एक राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ। गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौंडाका १९ वर्षीय सनिस तितुङ घाइते भएका छन्। उनको पेटको दाहिने भागमा गोली लागेको र हाल चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ।

दुई जना पक्राउ घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट डीएसपी बोगटीको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो। प्रहरीले आक्रमणमा संलग्न हेटौंडा–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरू र घाइते तितुङ यसअघि पनि लागूऔषध कारोबार, ज्यान मार्ने उद्योग र चोरीका घटनामा संलग्न देखिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad