समाज


स्वास्थ्य बिमा नविकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बिमा नविकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपालखबर
चैत २, २०८२ सोमबार १७:२६, काठमाडौँ

स्वास्थ्य बिमा बोर्डले बिमा नविकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। 

बोर्डले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सम्झौता गरेर बिमा नविकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। बोर्डले स्वास्थ्य बिमालाई प्रविधिमैत्री र सुरक्षित बनाउन राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी सहमति गरेको जनाएको छ। 

सम्झौतापत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। कार्यकारी निर्देशक डा. पौडेलले बिमामा धेरै विकृति देखिएकाले नविकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको बताए। 

‘एउटा व्यक्तिको नामबाट अर्कोले बिमाको सुविधा लिने, मृत्यु भइसकेको व्यक्तिको नामबाट पनि बिमा अन्तर्गत रहेर उपचार गराउने जस्ता विकृति धेरै देखिएपछि यस्तो निर्णय गरेका छौँ,’ पौडेलले भने, ‘हाललाई कम्तिमा पनि बिमा नविकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिए विकृति हटाउन सकिन्छ भन्ने उदेश्न राखेका छौँ।’ 

उनले राष्ट्रिय परिचय नम्बरलाई बिमासँग जोड्दा प्रणाली अझ बढी सुरक्षित, छिटो र भरपर्दो बनाउने र  दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्ण रूपमा नियन्त्रण गर्ने बताए।

कार्यकारी निर्देशक पौडेल सुरुवातमा राष्ट्रिय परिचयपत्र नै नभएका व्यक्तिको पनि बिमा नविकरण गर्ने र परिचयपत्रको नम्बर ल्याउन लगाउने बताए। ‘सबैसँग राष्ट्रिय परिचयपत्र नहुन पनि सक्छ, उनीहरूलाई पछि ल्याउने सर्तमा नविकरण गछौँ,’ उनले भने। 

अब बिमामा आवद्ध हुन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी भएको उनले जानकारी दिए। सम्झौता अनुसार अब स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad