सुनसरीको इटहरी उपमहानगरपालिका ७ मा रहेको पूर्वाञ्चल क्याफेमा बुधबार बिहानदेखि भएको आगलागी नियन्त्रणमा आएको छ।
धरान, इनरुवा र इटहरीबाट पुगेका ५ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा आएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, दिउँसो १२ बजेतिर आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ।
क्याफेमा पुनः निर्माणको काम चलिरहेको छ। काम गर्ने क्रममा वेल्डिङ गर्दै गरेको झिल्को केक प्याकिङ गरेको कार्टुनमा झरेपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब ३५ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।
आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना संयुक्त रूपमा खटिएका थिए।
इटहरी चोकको गोर्खा डिमार्टमेन्टनजिकै रहेको पूर्वाञ्चल क्याफे कोसी प्रदेशकै सर्वाधिक चलेको क्याफे हो।
Shares

प्रतिक्रिया