समाज


कृष्णमन्दिरमा नेम्वाङ दाजुभाइको हत्या गरेर भागेका व्यक्ति समात्ने प्रहरी पुरस्कृत

कृष्णमन्दिरमा नेम्वाङ दाजुभाइको हत्या गरेर भागेका व्यक्ति समात्ने प्रहरी पुरस्कृत

नेपालखबर
चैत २७, २०८२ शुक्रबार २०:३०, काठमाडौँ

ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा नेम्वाङ दाजुभाइको हत्या गरेर भाग्दै गरेका अभियुक्तलाई पक्राउ गर्ने प्रहरी पुरस्कृत भएका छन्। बुधबार साँझ कृष्ण मन्दिरमा झापाको कमल गाउँपालिका ६ का ३३ वर्षीय सुमित नेम्वाङ र उनका भाइ २५ वर्षका सृजन नेम्वाङको हत्या भएको थियो। 

छुरा प्रहार गरेर दाजुभाइको हत्या गरेपछि भाग्दै गरेका ललितपुरकै भोलढोकाका ३२ वर्षीय सञ्जीव नेपालीलाई घटनास्थल नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्ने मंगलबजार प्रभागकी प्रहरी जवान सहाना बोहरालाई दुईवटा प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेका हुन्। 

यस्तै, घटनाको सफल अप्रेसन गरेको भन्दै ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीलाई पनि काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पुरस्कृत गरेको छ। एसएसपी बोगटी र जवान बोहरालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले रेकर्डमा जनिने गरी नगदसहित पुरस्कृत गरेका हुन्।

यस्तै जवान बोहरालाई भने जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख एसएसपी बोगटीले पनि नगदसहित पुरस्कृत गरे। उनले हत्यामा संलग्न सञ्जीव नेपालीलाई छुरासहित भाग्दै गरेको अवस्थामा एक्लै पक्राउ गरेकी थिइन्। 

सुमितको मोबाइलबाट झुक्किएर सञ्जीवको मोबाइलमा फोन लागेपछि उनीहरूबीच बुधबार दिउँसोबाट विवाद भएको थियो। साँझ कृष्णमन्दिरमा भेटेका उनीहरूको विवादका क्रममा सञ्जीवले छुरा प्रहार गरेर सुमित र उनका भाइ सृजनको हत्या गरेको आरोप छ।

दाजुभाइको हत्या अभियोगमा सञ्जीवसँगै गएका गगन सुनार पनि पक्राउ परेका छन्। उनीहरूलाई हिरासतमा राखेर ललितपुर प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad