आज (मंगलबार) तराई, उपत्यका र खोचमा अत्यधिक गर्मी अर्थात् तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार आज मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचमा तातो दिन हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएको छ।
त्यसो त मौसम महाशाखाले सोमबार नै तातो दिन तथा तातो लहरसम्बन्धी बुलेटिन-१ जारी गरी ३ दिन मधेस प्रदेशसहित अन्य प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा यसभन्दा पनि माथि पुग्ने भएकाले यसबाट स्वास्थ्यमा असर पर्न सक्ने चेतावनी छ।
'देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तथा मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ', विशेष बुलेटिनमा भनिएको छ, 'लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी ३ दिनसम्म मध्यम तातो लहर (हिट वेभ) को सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।'
सम्भावित असर तथा सुझाव
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न निम्न उपाय अपनाउनु हुन अनुरोध छ।
उपाय
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध छ।
आज दिउँसो र राति विभिन्न सहरको तापक्रम कस्तो हुन्छ? तलको फोटोमा हेर्नुहोस्

आज मौसम र वर्षाको सम्भावना यस्तो छ
आज दिउँसो हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशका पहाडी र तराई तथा बाँकी पहाडी क्षेत्रका आकाशमा आंशिक बादल लाग्नेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति हिमाली भेगको आकाशमा आंशिक बादल लाग्नेछ। पहाडी र तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

Shares

प्रतिक्रिया