समाज


सुकुमबासी बस्तीमा डोजर चलाउने प्रधानमन्त्री बालेनको तयारीप्रति काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख डंगोल के भन्छिन्?

सुकुमबासी बस्तीमा डोजर चलाउने प्रधानमन्त्री बालेनको तयारीप्रति काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख डंगोल के भन्छिन्?

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८३ शनिबार ५:५०, काठमाडौँ

काठमाडौँका नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासी बस्तीमा संघीय सरकारले आजदेखि डोजर चलाउँदैछ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै विशेष पहलमा थापाथली, मनोहरा, तीनकुने, सिनामंगलसहित बागमती र मनोहरा नदी किनाराबाट सुकुमबासी बस्ती हटाउन थालिएको हो। 

विगतमा काठमाडौँ महानगरपालिकाको मेयर हुँदा नै बालेनले काठमाडौँ महानगरपालिका क्षेत्रका नदी किनाराका सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए। त्यतिबेला संघीय सरकारले असहयोग गर्दा बालेन पछि हट्नु परेको थियो। 

यतिबेला काठमाडौँ महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलले गरिरहेकी छन् भने तत्कालीन मेयर बालेन अहिले संघीय सरकारमा प्रधानमन्त्री छन्। 

अहिले संघीय सरकारले नै काठमाडौँको नदी किनाराबाट सुकुमबासी बस्ती हटाउने पहल अघि बढाउँदा महानगरको नेतृत्व गरिरहेकी कार्यवाहक प्रमुख डंगोलको धारणा के होला? 

गएराति उनले सामाजिक सञ्जालमार्फत् काठमाडौँ महानगरपालिकाको धारणा सार्वजनिक गरेकी छन्। 

यस विषयमा शुक्रबार महानगरपालिका नगर कार्यपालिकाका सदस्यहरुबिच भएको छलफलको मार्ग निर्देशन समेतलाई दृष्टिगत गरी काठमाडौँ महानगरपालिकाको धारणा सार्वजनिक गरेको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन्। 

डंगोलले काठमाडौँ महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी तथा सामुदायिक जग्गा तथा अरूको नीजि स्वामित्वमा रहेको जग्गा संरक्षण गर्ने कार्य गर्दा मानव अधिकारको न्यूनतम मूल्य तथा मान्यतालाई समेत आत्मसात् गर्दै कार्य सम्पादन गर्दै आइरहेको बताएकी छन्। 

हालै नेपाल सरकारले गरेको निर्णय तथा पहलकदमीमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका नदी किनार तथा अन्य सार्वजनिक स्थानको संरक्षण गर्ने कार्यमा अनधिकृत संरचना हटाउने कार्य गर्न सम्बद्ध मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय तथा अनुरोध बमोजिमको कार्यमा सहयोगी भूमिका निर्वाह हुने उनको भनाई छ। 

सुकुमबासी बस्ती खाली गर्दा सम्मानजनक मानवीय व्यवहार गर्ने, जेष्ठ नागरिक, विरामी, गर्भवती महिला, बालबालिका, अपांगता भएका मानिसहरूको विशेष ख्याल राख्ने, सकेसम्म विवादरहित तथा सुरक्षित तवरले व्यवस्थापन गर्ने र कानुन र न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौं महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहने जानकारी पनि उनले गराएकी छन्। 

‘त्यसका साथै यस कार्यमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला सबै निकाय, पदाधिकारी र सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछौँ,’ उनले भनेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad