समाज


नेपालमा एकसाथ ४ मौसम प्रणालीको प्रभाव, अधिकांश स्थानमा चट्याङ र असिनासहित वर्षाको सम्भावना

नेपालमा एकसाथ ४ मौसम प्रणालीको प्रभाव, अधिकांश स्थानमा चट्याङ र असिनासहित वर्षाको सम्भावना

आइतबार बिहान काठमाडौँको त्रिपुरेश्वर चोकबाट खिचिएको तस्बिर


नेपालखबर
बैशाख २०, २०८३ आइतबार ८:३७, काठमाडौँ

नेपालमा एकसाथ चार मौसम प्रणालीको प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र र दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव परिरहेको हो।

जसका कारण अहिले (आइतबार बिहान) देशभर साधारणतया बादल लागेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हुरीसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ।

काठमाडौँमा बिहानैदेखि वर्षा, मौसमविद् भन्छन्: आज मौसम खुल्ने सम्भावना कम छ

काठमाडौँ उपत्यकामा पनि आज (आइतबार) बिहानैदेखि वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ४:४५ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको हो। 

काठमाडौँमा आइतबार बिहान वर्षा भइरहँदा सिंहदरबारको पश्चिम गेटअगाडिको दृश्य। तस्बिर : हरिराम भेटुवाल/रासस

‘अहिले पनि उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ’, उनले आज बिहान ७:४५ बजे नेपालखबरसँग भने, ‘आज काठमाडौँ उपत्यकामा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ।

‘निरन्तर वर्षा भइनरहे पनि बादल लाग्ने, पानी पर्ने, रोकिने र फेरि पर्ने क्रम जारी रहने सम्भावना देखिएको छ’, उनले भने। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ। 

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad