काठमाडौँको इन्द्रचोक, भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ।
यही वैशाख १७ गते दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास भएपछि नैना एन्ड इशान ज्वेलरीकी सञ्चालक बबिता रौनियार प्रतिकार गरेकी थिइन्। त्यसपछि उनीहरू भागेका थिए।
घटनाको अनुसन्धान र खोजतालसको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, भक्तपुरको थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र काठमाडौं महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल छन्।
‘विवेक राजबाहक र अरुण भुजेललाई हाम्रो टोलीले पक्राउ गरेको हो,’ एसपी भट्टराईले नेपालखबरसँग भने, ‘उनीहरू यसअघि भएका विभिन्न आपराधिक घटनामा पनि संलग्न भएको देखिन्छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’
महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले र विवेक र अरुणलाई काठमाडौँ परिसरको टोलीले पक्राउ गरेको हो।
महर्जनले लुटपाटको क्रममा लगाएको कपडा घटनास्थल नजिकै फालेर हुलियासमेत परिवर्तन गरेका प्रहरीले जनाएको छ।
उनीहरुबाट चिनियाँ पेस्तोल र त्यसको म्यागजिन, गोली र एक थान तथा सो समयमा प्रयोग भएको कपडा र स्कुटरसमेत बरामद गरिएको भट्टराईले जानकारी दिए।
उनीहरुले गत पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मासन गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद रु चार लाख, मोबाइल र सिसीटिभीसमेत लुटेको अनुसन्धानका क्रममा खुलेको छ।
Shares

प्रतिक्रिया