समाज


पानी पर्ने क्रम जारी, कस्तो होला मौसम दिउँसो र राति

पानी पर्ने क्रम जारी, कस्तो होला मौसम दिउँसो र राति

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार ८:३४, काठमाडौँ

हाल (बिहीबार बिहान) देशभर मौसम साधारणतया तथा आंशिक बदली (घाम पनि देखिने अवस्था) भएको छ भने केही प्रदेशमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बादल देखिएको छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया तथा तराईको आकाशमा आंशिक बादल लाग्नेछ।

अनि कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनि र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा दिउँसो मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ।

यस्तै आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली भेगको आकाशमा साधारणतया तथा तराईमा आंशिक बादल लाग्नेछ।

अनि कोसी र मधेस प्रदेशका थोरै स्थान,  बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

‘काठमाडौँ उपत्यकामा आज बिहानै पनि मध्यम वर्षा भएको थियो तर अहिले रोकिएको छ’, उनले बिहीबार बिहान सवा ८ बजेतिर नेपालखबरसँग भने, ‘फेरि दिउँसो, अपराह्न वा साँझपख वर्षा हुने सम्भावना छ।’

ठ्याक्कै यति नै बजे पानी पर्छ भनेर तोक्न भने नसकिने उनले बताए। 

मौसमविद् ढकालका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा कहिले घाम, कहिले बादल हुने तथा पानी पर्ने सम्भावना छ। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad