बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ।
अज्ञात समूहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरूले डेढ तोलाभन्दा बढी सुन लुटिएको छ।
घाइते महिलाहरुलाई उद्धार गरी सुरुमा उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको थियो। अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगन्ज पठाएको छ।
घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेको छ। प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिए। राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट्र उनीहरू पक्राउ परेका हुन्। रासस
Shares

प्रतिक्रिया