समाज


काठमाडौँका डोजर ‘उस्ताद’ पुष्करको कथा, भन्छन्– केशव र बाबुराम पनि झेलेँ, यसपालि सुकुम्वासी बस्ती भत्काउँदा आँसु झर्‍यो (भिडिओ)

काठमाडौँका डोजर ‘उस्ताद’ पुष्करको कथा, भन्छन्– केशव र बाबुराम पनि झेलेँ, यसपालि सुकुम्वासी बस्ती भत्काउँदा आँसु झर्‍यो (भिडिओ)

डोजर अपरेटर पुष्कर सापकोटा। सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


आयुषा ढकाल
जेठ ६, २०८३ बुधबार १७:४७, काठमाडौँ

‘मान्छेको घर भत्काउँदा चित्त त दुखिहाल्छ नि, हामीलाई पनि नमज्जा लाग्छ। लागेर के गर्ने? माथिबाट निर्देशन आएपछि आफ्नो कर्तव्य पूरा गर्नु परिहाल्छ।’

भर्खरै भत्काइएको थापाथलीको सुकुम्वासी बस्तीमा खण्डहर सम्याइरहेका डोजर अपरेटर पुष्कर सापकोटाले अमिलो मुख लाउँदै भने। बस्ती हटाएपछि यहाँ हरियाली पार्क बनाउने तयारी छ। त्यसैले सोमबार पनि बिहानैदेखि उनी काममा थिए।

चार वर्षअघि मात्र मुटुको अप्रेसन गरेका पुष्करले ११ बजेसम्ममा ९ गोली दबाइ खाइसकेका थिए। तर, उनको जोसमा कुनै कमी देखिँदैनथ्यो।

पुष्कर घरटहरा भत्काउने कामका ‘उस्ताद’ नै हुन् भन्दा फरक नपर्ला। किनकि महानगरमा दशौँ वर्षदेखि जति ठाउँमा बस्ती उठाइयो, टहरा भत्काइयो, त्यहाँ उनी पुगेकै हुन्छन्। 

उनले महानगरमा जागिर खाएको ३३ वर्ष पुग्यो। यो अवधिमा उनले कति घरमा डोजर चलाए, सम्झेर साध्य छैन।

तर, यसपटक प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय र निर्देशनमा सुकुम्वासी वस्तीमा डोजर चलाउँदा सबैभन्दा बढी मन रोएको उनले बताए। साना–साना बालबालिकाले आफ्नो घर भत्किएको देखेर रोइरहेका थिए। आफ्नो जिन्दगी नै त्यही बस्तीमा बिताएका वृद्धहरू भक्कानिएका थिए। यो दृश्य देख्दा उनलाई दुःख लागेको थियो।

‘यसपालि घर भत्काउँदा मेरो आँसु झर्‍यो,’ पुष्करले भने, ‘तर मेरो ड्युटी यही हो, मैले गर्नै पर्‍यो। बिरामीको अप्रेसन गर्दा डाक्टरले दुख्ला कि भन्ने सोच्यो भने उसले डाक्टरी नगरे हुन्छ। त्यसैले हत्तपत्त म यस्ता कुरा सोच्दिनँ।’

१२ वर्षमा घर छाडे, चालक बने
५६ वर्षीय पुष्कर काठमाडौँको झोरमा जन्मेहुर्केका थिए। १२ वर्षको उमेरमा घर छोडेर हिँडेका थिए उनी। त्यतिबेला सोह्रखुट्टे, रानीपोखरीबाट जिपहरू चल्थे। घर छोडेपछि उनले त्यही जिपमा काम गर्न थाले। ६ महिनामा उनी ड्राइभर बने। 

एक दिन उनी जिपमा यात्रु लिएर गइरहेको बेलामा ककनीको उकालो चढ्दा एउटा ट्रकले उनलाई पेलेर आयो। 

पुष्करले भने, ‘यस्तो लोड लिएर उकालो आइरहेको गाडीलाई किन पेलेर आएको?’ 

ट्रक चालकले उनलाई अपशब्द प्रयोग गर्दै भने– ‘यत्रो जाबो गाडी चलाउँछस्, अझ ठूला कुरा गर्छस्!’ 

पुष्करलाई लाग्यो– सानो गाडी चलाएपछि त हेप्ने रहेछन्। अनि हेपेको उनलाई फिटिक्कै मन नपर्ने।

ट्रक चालकको वचन मनमा काँडाजसरी बिझेपछि उनले जिप चलाउन छाडिदिए। बरु ठूला गाडीको सहचालक बने र अन्ततः ट्रक चलाउन थाले। 

एक दिन ट्रक लिएर उनी खोलामा गिट्टी लिन गएका थिए। जानजाति समुदायका एक डोजर अपरेटरले उनलाई भने, ‘बाउनले पनि डोजर चलाउन सक्छ र?’

यो कुरा पनि उनको मनमा बिझ्यो। त्यसपछि उनले २०४७ मा डोजर चलाउन सिके। पुष्कर त्यतिबेला २० वर्षका मात्र थिए। २२ वर्षको उमेरमा २०५० सालदेखि डोजर अपरेटरको रूपमा काठमाडौँ नगरमा उनले काम गर्न थाले।

त्यसयता भत्काउनमा नाम कमाएका मेयर केशव स्थापित, प्रधानमन्त्री बाबुराम भट्टराई र पछिल्लो समय बालेन शाहसम्मलाई उनले खेपिसकेका छन्।

जजसले भत्काए
२०५४ मा केशव स्थापित काठमाडौँको मेयर भएर आए। उनको निर्देशनमा पुष्करले पशुपति क्षेत्र, माइतीघर, तीनकुने, रत्नपार्कलगायतका ठाउँहरूमा निर्माण भएका अव्यवस्थित घर–टहरा भत्काएका थिए। 

सोही क्रममा उनले सहिद गेटदेखि त्रिपुरेश्वर जाने बाटोमा रहेको सेनाको ब्यारेक भत्काएर बाटो बढाएका थिए। पर्खाल भत्काउन खोज्दा पुष्करलाई सेनाले रोक्न खोजेको थियो। त्यसपछि केशव स्थापित आफैँ अगाडि बसेर काम गर्न लगाएका थिए।

‘उहाँ मेरो कर्मचारी हो, मैले भत्काउन लगाएको हो यो ठाउँ’ भन्दै स्थापित सेनाको अगाडि उभिएर ‘तपाईं आफ्नो काम गर्नुस्’ भन्दै पुष्करलाई आदेश दिएका थिए।

‘महानगरमा अव्यवस्थित संरचना भत्काउनुपर्छ भनेर सिकाउने केशव स्थापित हो,’ त्यो समय सम्झिँदै सापकोटाले भने, ‘पहिले पनि अव्यवस्थित संरचना नभत्काएको होइन, भत्काएको हो तर अहिले मिडियाबाजी धेरै भएको हो। पहिले यो भन्दा धेरै काम हुने गरेको थियो।’

२०५८ मा बुबा बित्दा समेत १३ दिन मात्र छुट्टी पाएका थिए सापकोटाले। 

‘मेरो बुबा बितेको १३ दिनको दिनमा मैले आएर रत्नपार्कमा आएर घर भत्काएँ,’ उनले भने।

वि.सं. २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेपछि उनले सडक विस्तारका लागि अव्यवस्थित घरटहरा भत्काउने काम सुरु गराए। सोही अनुसार काठमाडौं महानगरपालिकाबाट सुकुम्वासी बस्तीमा डोजर लगाउन पुष्कर पुगेका थिए। त्यतिबेला बस्तीमा मान्छेहरू आक्रोशित भएका थिए। स्थानीयले ढुङ्गामुढा गरिरहेका थिए। सोही क्रममा बाहिरबाट हानेको ढुङ्गाले डोजरको सिसा फुट्यो र भित्र आएर ढुंगा उनको पुर्पुरोमा लाग्यो। 

‘त्यो घाउमा ३ वटा टाँका लगाउनु परेको थियो,’ पुष्कर सम्झिन्छन्।

त्यो समयमा माइतीघर मण्डलका घर भत्काउन स्काभेटर चालक समेत डराएपछि पुष्करले भत्काएका थिए। 

उनी भन्छन्, ‘घर भत्काउनका लागि पनि साधन मात्र भएर हुँदैन, अनुभव पनि चाहिन्छ। मैले माइतीघरमा पाँच वटा ठुल्ठूला घर भत्काएँ।’

मुटुको अप्रेसनपछि पनि छोडेनन् डोजर 
चार वर्षअघि पुष्करलाई टेकुमा डोजर चलाउँदै गर्दा अचानक भित्र–भित्र अफ्ठ्यारो महसुस भयो। गारो भएपछि सापकोटा आफैँ गाडी चलाएर घर गए। तर, घरमा बेहोस भए।

परिवारले उनलाई अस्पताल लग्यो। परिवारले आश मारिसके पनि उनी बौरिए। मुटुको अप्रेसन गरियो।

त्यसपछि २७ महिना घरमै आराम गरे। त्यो बेलामा उनलाई काम नगरी बस्दा साह्रै गाह्रो भयो।

उनका हजुरबुवाले उनी सानै हुँदा भनेका थिए– ‘बरु आफ्नो काम गर्दा आराम गर्दै गर तर अरूको काम इमानदार साथ गर, नत्र दरगा लाग्छ, भोलि मरेपछि तिर्नु पर्छ।’

त्यो कुरा उनले सम्झिरहे र काममा फर्के।

अहिले पनि उनी बिहान ७ बजे नै कार्यालय पुग्छन् र त्यहाँबाट आफूलाई कताको जिम्मेवारी दिइएको छ, त्यतै लाग्छन्। दिनभरि काम गरेर बेलुका मात्र घर फर्किन्छन्।

डाक्टरले उनलाई ज्यादा आराम गर्न सुझाएका छन्। 

‘मैले डाक्टरको त्यो पेपर देखाएर आनन्दले घर बसेर खान पाउँछु तर त्यस्तो गर्दा ज्यान नचल्ने,’ पुष्करले भने।

‘कामको हिसाबले म काठमाडौँ महानगरपालिकाको जेठो हुँ। हामीले महानगरपालिका बनाएको हो तर म जस्तो कर्मचारीलाई महानगरले औषधि उपचारका लागि २ रुपैयाँ पनि दिएन, आर्थिक सहयोगको निवेदन लेखेर दे भन्यो,’ उनले भने, ‘यस्तो चित्त दुख्यो, निवेदन पनि लेखिनँ, पैसा नि लिइनँ।’

पुष्कर आफ्नो कामदेखि निकै सन्तुष्ट छन्। आफ्ना साथीहरू २५–३० हजार कमाउनका लागि खाडी गएको देख्दा उनलाई आफ्नो काम सहज लाग्छ। पुष्कर आफ्नो कामलाई कहिल्यै पनि सानो, फोहोर वा जोखिमपूर्ण मान्दैनन्।

‘सबै जना गाह्रो र फोहोर काम भनेर पन्छिने हो भने त्यो फोहोर सफा गर्ने को हो त? यो हाम्रो काम–कर्तव्य हो,’ उनले भने।

काम जोखिमपूर्ण भए तापनि तलब निकै कम भएको उनी बताउँछन्। उनको तलब–भत्ता सबै जोड्दा हाल ७०–७५ हजारसम्म आउँछ। कहिलेकाहीँ काम गर्दा हुने दुर्घटनामा पनि महानगरले खासै नहेर्ने उनको भनाइ छ। त्यसको उदाहरण दिँदै उनले २०६२ सालमा टेकुमा भएको कवाड व्यवसायीको आन्दोलनको घटना सुनाए।

त्यहाँ उनीलगायत नगर प्रहरी र नेपाल प्रहरी नै घाइते भएका थिए। त्यो बेलामा उनको उपचारमा १४ हजार रुपैयाँ खर्च भएको थियो। तर, त्यसको खर्च महानगरले बेहोरेन।

‘आफैँले बेहोर्नुपर्‍यो,’ उनी भन्छन्। 

फोटो/भिडिओ: सरोज नेपाल/नेपालखबर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad