समाज


नगरप्रहरीले काफल पोख्यो, मेयरले दिइन् १० हजार

नगरप्रहरीले काफल पोख्यो, मेयरले दिइन् १० हजार

उद्धव थापा
जेठ ६, २०८३ बुधबार १८:४१, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित सिटी वसपार्क नजिकै एक महिला मंगलबार साँझ डालोमा काफल राखेर बेच्दै थिइन्। तर, नगरप्रहरीलाई ती महिलाले काफल बेचेको असोभनीय लाग्यो र डालो खोसेर काफल पोखिदियो। 

कालिकोट स्थायी ठेगाना भएकी धमिला चौलागाई वीरेन्द्रनगर नगरपालिकाकै वडा नम्बर–३ मा अस्थायी बसोबास गर्दै आएकी छिन्। उनलै जिविकोपार्जनको लागि वनबाट काफल टिपेर सहरमा बिक्री गरिरहेकी थिइन्। 

नगर प्रहरीले काफल पोखिदिएको उक्त तस्बिर सोसल मिडियामा भाइरल भयो। नगर प्रहरीको व्यवहारको चौतर्फी आलोचना भयो। 

सहरमा गरिबलाई गरिखान नदिएको भन्दै टिप्पणी भयो। त्यति मात्रै होइन, काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह मेयर भएपछि गरिब लेखेटिएको विषयलाई जोडेर पनि वीरेन्द्रनगरको यो घटनाको व्याख्या भयो। 

काठमाडौंमा बालेन्द्र शाह मेयर भएपछि फुटपाथ व्यवस्थित गर्ने नाममा गरिबहरु लखेटिएका थिए। ठेलागाडा र साइकल खोसिएका थिए। ठ्याक्कै त्यही दृश्य वीरेन्द्रनगरमा देखिएको थियो। 

नगरप्रहरीले काफल पोखेको तस्बिर भाइरल भएपछि वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण भयो। प्रशासनले बुधबार दिउँसो विज्ञप्ति प्रकाशन गरेर काफल पोख्ने नगरप्रहरीलाई विभागीय कारबाही गर्ने र चौलागाईलाई उचित राहत तथा क्षतिपूर्ति दिने बताएको थियो।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले चौलागाईलाई आफ्नो कार्यकक्षमा बोलाएर काफलको क्षतिपूर्ति दिएकी छन्। 

‘बसपार्क चोकमा बसेर काफल बेच्दै हुनुहुँदो रहेछ। उहाँलाई सुरक्षित ठाउँमा सार्नेक्रममा डालो तानातान हुँदा काफल पोखिएको रहेछ। फुटपाथ खाली गर्ने भनिए पनि मानवीय पक्षलाई बेवास्ता गर्ने भनिएको होइन। त्यसैले उहाँलाई बोलाएर क्षतिपूर्ति दिएका छौँ,’ नगरप्रमुख ढकालले नेपालखबरसँग भनिन्। 

नगरपालिकाले चौलागाईलाई १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ।

‘हामीले उहाँलाई कति काफल थियो, कति पैसा चाहिन्छ भनेर सोधेका थियौं। उहाँले १५ किलो काफलको पाँच सय रुपैयाँका दरले सात हजार पाँच सय माग्नुभएको थियो। हामीले केही रकम थपेर १० हजार रुपैयाँ दियौँ,’ नगरप्रमुख ढकालले भनिन्। 

नगरपालिका भित्र फुटपाथ खाली गर्ने भनिएपछि फुटपाथमा व्यापार गर्न चाहनेलाई निश्चित ठाउँ तोकिएको उनले बताइन्।

‘धेरै भीडभाड हुने र जोखिमपूर्ण ठाउँमा बसेर व्यापार नगर्नुस् भनेका छौँ। व्यापारका लागि निश्चित ठाउँ तोकिदिएका छौँ’, ढकालले भनिन्।

नगरपालिकाले काफल पोख्ने प्रहरीलाई विभागीय कारबाही गरेको ढकालले जानकारी दिइन्।

काफल बेच्दै गरेकी महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad