समाज


मौसम प्रक्षेपण: हिमालदेखि तराईसम्म वर्षा, यी प्रदेशमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत
मौसम प्रक्षेपण: हिमालदेखि तराईसम्म वर्षा, यी प्रदेशमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँको स्वयम्भू क्षेत्र (फाइल फोटो)


नेपालखबर
जेठ ९, २०८३ शनिबार ८:४६, काठमाडौँ

आज (शनिबार) पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस्तै वर्षाको सम्भावना मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा पनि छ। 

अनि आज दिउँसो उल्लिखित प्रदेशका हिमाली भेगमा मध्यमसम्म हिमपात हुने सम्भावना पनि छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भूभागमा तातो दिन तथा तराईमा तातो लहर हुने सम्भावना छ।

यसैगरी आज राति कोसी प्रदेशका केही स्थान,  मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका  थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा पनि त्यस्तै वर्षाको सम्भावना छ। साथै उल्लिखित प्रदेशका हिमाली भेगमा हिउँ पर्ने सम्भावना पनि छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना 

आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकामा आज खासगरी साँझपख पानी पर्ने सम्भावना छ। 

‘आज काठमाडौँ उपत्यकामा अपराह्न वा विशेषगरी साँझपख हल्का वर्षा हुने सम्भावना छ। तर यो सम्भावना कम छ। आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत छ’, उनले नेपालखबरसँग भने।

मौसमविद् ढकालका अनुसार अहिले बिहान भने काठमाडौँ उपत्यकामा घाम पनि लागेको छ भने आकाशमा आंशिक बादल छ।

‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम यस्तै घाम बादल घाम बादल हुने देखिन्छ’, उनले भने, ‘दिउँसोपछि बादल अलि बढेर साँझपख वर्षा हुने सम्भावना देखिएको छ।’

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad