काठमाडौँ महानगरपालिकाले हिजो (आइतबार) सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने परीक्षार्थीहरूको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो।
आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी थिए। उनीहरुले ८३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए।
महानगरपालिकाले परीक्षा भएको २४ घण्टा भित्रमै नतिजा सार्वजनिक गरेको हो।
यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ।
नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइलरइमेलमा प्राप्त) राखी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको पनि महानगरले जनाएको छ।
महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र ११ र १२ कक्षा सञ्चालन हुने निजी (संस्थागत)विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो।
महानगरको यो कार्यक्रमबाट गत वर्षसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्ष काठमाडौँ महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका थिए। यस वर्ष झण्डै दोब्बर बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
गत वर्ष १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए। उत्तीर्ण भएकामध्येबाट पनि करिब ४५ सयजति विद्यार्थीले मात्रै छात्तवृत्ति प्राप्त गरेका थिए। यस वर्ष त्योभन्दा केही बढी विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ।

Shares

प्रतिक्रिया