समाज


आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकाका लागि यस्तो छ आकलन
आज यी स्थानमा भारी वर्षाको सम्भावना

नेपालखबर
साउन ११, २०८३ सोमबार ८:१६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ८ बजे जनाएअनुसार हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, बागमती प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोसी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यस्तै आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा दिउँसो २/३ बजेपछि पानी पर्ने सम्भावना छ। 

‘अहिले बिहान पनि कतै कतै फाटफुट पानी परिरहेको छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर यो अब रोकिने क्रममा छ र केही समय घाम-बादल घाम-बादलको अवस्था रहनेछ। फेरि दिउँसो २/३ बजेपछि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ।’  

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad