सुनसरीमा प्रहरीको गोली लागि युवाको ज्यान गएपछि सुरक्षा निकायमा फेरबदल गरिएको छ। कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई फिर्ता बोलाएर त्यहाँ नयाँ डीआईजी खटाइएको छ।
अब कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी शेखर खनालले पाएका छन्। खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
उनलाई २० दिन अघिमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरकारले अकस्मात फिर्ता बोलाएको थियो। अख्तियारबाट फिर्ता भएका खनालले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र प्रहरी प्रमुख एसपी केशव थेबेलाई पनि फिर्ता बोलाएको छ।
उनीहरुको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पुष्पराज मल्ललाई खटाउने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
उस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा प्रधान कार्यालय हलचोकबाट डीएसपी मदन नाथलाई खटाइएको छ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। २४ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ।
घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।
सोमबार देवानगन्ज र हरिनगर गाउँपालिकाका ५ स्थानमा बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।अहिले ती क्षेत्रमा नेपाली सेना समेत खटिएको छ।
Shares

प्रतिक्रिया