काठमाडौं उपत्यकाका अस्पतालमा धमाधम कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य सेवा प्रभावित बन्न थालेको छ।
शनिबारमात्रै भक्तपुरको मध्यपुर अस्पताल नयाँथिमिमा सुत्केरी भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। सुरुमा उनले केएमसी अस्पताल सिनामंगलमा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी थिइन्। तर, संक्रमित देखिएपछि सो अस्पताल नै बन्द भएको थियो। त्यसैले उनी मध्यपुर अस्पताल पुगेकी थिइन्।
अस्पतालबाट डिस्चार्ज भइसकेकी उनलाई संक्रमण देखिएपछि मध्यपुर अस्पतालका ६ जना डाक्टर, १२ नर्सिङ स्टाफ, ११ हेल्परलाई क्वारेन्टिनमा राखिएको छ। यस्तै अस्पतालको प्रसूति कक्ष र फार्मेसी सिल गरिएको अस्पतालले जनाएको छ।
गत जेठ ३ गते सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो। उनले वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा सन्तान जन्माएकी थिइन्। अस्पतालबाट घर पुगेकी उनलाई सास फेर्न गाह्रो भएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। जहाँ उनको मृत्यु भयो। त्यसलगत्तै अस्पताललाई सिल गर्नुका साथै चिकित्सकहरुलाई क्वारेन्टिनमा राखिएको थियो।
यस्तै जेठ १ गते त्रिवि शिक्षण अस्पतालमै भर्ना भएकी एक ६ वर्षीया बालिकामा कोरोना पुष्टि भएको थियो। उनको उपचारमा संग्लन डाक्टर, नर्सलगायत ३८ जनालाई क्वारेन्टिनमा पठाइएको थियो।
केएमसी अस्पतालमा जेठ २१ गते नियमित स्वास्थ्य परीक्षण गराइरहेकी एक गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
सोही दिन अस्पतालकै एक डाक्टर र एकजना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द गरिएको छ।
केएमसीकी प्राध्यापक तथा प्रवक्ता डा. चन्दा कार्कीले स्वास्थ्यकर्मीबाट अरुलाई नसरोस् भनेर तत्काल सेवा बन्द गरेको बताइन्।
‘हामीले सुरक्षाका उपाय अपनाउँदै बिरामी हेरेका थियौं। तर कहाँबाट सर्यो थाहा भएन। थप बिरामीलाई नसरोस् भनेर तत्काल सेवा बन्द गरिएको हो,’ कार्कीले भनिन्।
यस्तै गत शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउन आएका मध्ये दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। तीमध्ये गुल्मीबाट ल्याइएका एक ७६ वर्षीय बिरामी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन्।
थापाथलीस्थित प्रसूति गृहमा पनि एक गर्भवतीमा कोरोना संक्रमण देखिएको छ। गत बुधबार धादिङकी २२ वर्षीया महिलामा संक्रमण भेटिएको थियो। उनी आइसोलेसन वार्डमै रहेको भन्दै अस्पतालले सेवा रोकेको छैन।
यता, प्रसूति गृहकै छेउमा रहेको नर्भिक अस्पताल, पुल्चोकको निदान अस्पताल, ग्रान्डी अस्पतालमा पनि कोरोना संक्रमणका बिरामीहरु भेटिसकेका छन्।
जसका कारण अस्पतालले दिने स्वास्थ्य सेवामा बाधा पर्न थालेको छ। संक्रमित भेटिनेबित्तिकै अस्पताल नै सिल गर्ने चलनले गर्दा अन्य उपचार लिनैपर्ने बिरामी समस्यामा परेका छन्।
यसैकारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कसैलाई कोरोना संक्रमण देखिए उक्त स्थानलाई २ घण्टाभित्र संक्रमणमुक्त गरी सेवा नियमित गर्नुपर्ने व्यवस्था गरेको छ।
‘स्वास्थ्य संस्थाहरुमा नियमित सेवा कुनै पनि कारणले अवरुद्ध वा संस्था सिल गर्न पाइने छैन। प्रि–आइसोलेसन वार्ड वा नियमित सेवा दिने युनिटमा कुनै व्यक्तिमा भाइरस देखिएमा २ घण्टा भित्रमा उक्त स्थानलाई उचित सामग्रीको प्रयोग गरी डिसइफेक्टेड गर्ने र अविलम्ब पुनः सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने छ,’ स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा भनिएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले अन्य सेवा प्रभावित हुन नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामाग्री दिएर खटाउनुपर्नेमा जोड दिए।
‘स्वास्थ्यकर्मी संक्रमित भए उनीहरुसँग सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ। यसबाट भविष्यमा स्वास्थ्यकर्मी अभाव हुनसक्छ,’ उनले भने, ‘त्यसैले कोभिडविरुद्धको लडाइँमा खट्नेहरुलाई पर्याप्त सुरक्षाका उपाय दिएर खटाउनुपर्छ। त्यसको व्यवस्थापन सम्बन्धित अस्पताल तथा सरकारले गर्नुपर्छ।’
काठमाडौंका केही अस्पतालहरुले शल्यक्रिया जस्ता जटिल उपचार कोरोना परीक्षणपछि मात्रै गर्न थालेका छन। काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतले शल्यक्रियाअघि बिरामीको कोभिड परीक्षण गर्न थालेका हुन।
‘हाम्रोमा विभिन्न जिल्लाका बिरामीहरुको दैनिक शल्यक्रिया हुन्छ। केही बिरामी कोरोना संक्रमित क्षेत्रका छन्,’ ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले भने, ‘उनीहरुबाट डाक्टर तथा अन्य बिरामीलाई पनि नसरोस् भनेर परीक्षण गर्ने गरेका छौं। तर तुरुन्त शल्यक्रिया आवश्यक पर्दा भने रिपोर्ट कुर्दैनौं। सावधानी अपनाएर शल्यक्रिया गर्छौँ।’
Shares

प्रतिक्रिया