समाज


आज सूर्यग्रहण : ८८ प्रतिशत अंश ढाकिने, कहाँ कतिबजे ग्रहण लाग्ने?

आज सूर्यग्रहण : ८८ प्रतिशत अंश ढाकिने, कहाँ कतिबजे ग्रहण लाग्ने?

नेपालखबर
असार ७, २०७७ आइतबार ०:१३,

आज (आइतबार) बिहान सूर्यग्रहण लाग्दैछ। ग्रहणले सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्नुलाई सूर्यग्रहण भनिन्छ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ। मध्याह्न १२ बजेर चार मिनेट जाँदा ग्रहणले सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्।

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ।ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुनेछ।

आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ। काठमाडौँबाट भने आजको सूर्यग्रहणलाई खण्डग्रासको रुपमा अवलोकन गर्न सकिने छ।

नेपाली भूभागमध्ये मुलुककै उत्तरपश्चिम बिन्दु दार्चुलाको लिम्पियाधुराबाट हेर्दा सूर्य सबैभन्दा धेरै छेकिनेछ। भारतको अतिक्रमणमा रहेको र नेपालले हालै आफ्नो नक्सामा समेटेको नेपाली भूमि लिम्पियाधुरा क्षेत्रबाट सो ग्रहणका बेला साढे ९८ प्रतिशत सूर्य ढाकिने विज्ञहरुले बताएका छन्।

काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ (स्पर्श) हुने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए।

त्यसैगरी काठमाडौँ र जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, भद्रपुर झापाबाट ८१ प्रतिशत र महेन्द्रनगर, कञ्चनपुरबाट ९३ प्रतिशत सूर्यलाई ग्रहणले ढाकेको देख्न सकिन्छ।

सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षित गरी एष्ट्रोनोमिकल क्लबले काठमाडौंको सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको छ। यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्दैछ।

याे पनि: असार ७ मा वलय सूर्यग्रहण, लिम्पियाधुराबाट सबैभन्दा धेरै ९८ प्रतिशत ढाकिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad