कोरोनाभाइरस संक्रमणको चेन ब्रेक गर्न कन्ट्याक्ट ट्रेसिङ महत्वपूर्ण मानिन्छ। कन्ट्याक्ट ट्रेसिङका मद्दतबाट संक्रमितको सम्पर्कमा आएकाहरु तथा सम्भावित संक्रमितहरुको खोजी गर्दै आइसोलेसनमा राखिन्छ। जसले थप व्यक्ति संक्रमित हुन पाउँदैनन्।
तर, पछिल्लो समय ट्राभल हिस्ट्री नै नदेखिएका संक्रमितहरु बढ्न थालेपछि कन्ट्याक्ट ट्रेसिङ नै प्रभावित बन्दै गएको छ। ती व्यक्तिमा कहाँबाट, कसरी कोरोना सर्यो, सरकारी निकाय अलमलमा छ।
काठमाडौं उपत्यकामा मात्रै बिहीबारसम्म १ सय ५८ जनालाई कोरोना संक्रमण देखिइसकेको छ। बुधबार र बिहीबारको कन्ट्याक्ट ट्रेसिङको विवरण नआइसकेपनि मंगलबारसम्म उपत्यकामा १२ जना ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण देखिएको छ।
कन्ट्याक्ट ट्रेसिङको काम गर्ने जिम्मेवारी पाएको इपिडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ट्राभल हिस्ट्री नदेखिएकाहरुको संक्रमणको स्रोत पुष्टि गर्न समुदायस्तरमा परीक्षण थालिने बताएका छन्।
‘ट्राभल हिस्ट्री नभेटिएका मान्छेहरुलाई कहाँबाट सरेको हो भनेर पत्ता लगाउन भोलिदेखि उनीहरुकै स्थानमा जाने र परीक्षण गर्ने अभियान चलाउँदैछौं,’ पाण्डेले भने, ‘उनीहरुका घर वरपर, दैनिक उपभोग्य सामान किन्न जाने पसल तथा जहाँजहाँ गएका छन् ती स्थानहरुमा गई नमुना संकलन गर्दैछौं।’
स्थानीय अधिकारी, स्वास्थ्य संयोजकसँग मिलेर तिनको नमुना संकलन गरिने उनले जनाए।
‘यसरी समुदायमा गएर परीक्षण गर्दा समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर पनि पत्ता लाग्छ,’ उनले थपे, ‘भैंसेपाटीका ट्राभल हिस्ट्री नै नभएका एक बच्चालाई संक्रमण देखिएको छ। अब उनका अभिभावक कहाँ कहाँ गए? कुन कुन पसलबाट सामान किने? ती सबै ठाउँको नमुना परीक्षण हुनेछ।’
काठमाडौंमा घना जनसंख्या भएकाले यहाँ समुदायस्तरमा फैलन नदिन कन्ट्याक्ट ट्रेसिङमा सबैले सघाउ पुर्याउनुपर्ने पाण्डेले जोड दिए।
‘हामी हरेक केसको गहिराइमा गएर अनुसन्धान गर्दैछौं। ट्राभल हिस्ट्री नभएकाहरुको संक्रमणको स्रोत पत्ता लगाउन टिम नै खटाउँदैछौं,’ उनले थपे, ‘अहिले समुदायका केही व्यक्तिमा मात्रै संक्रमण देखिएको छ। तर यसलाई समुदायमा फैलिएको भन्न मिल्दैन। समुदायमा फैलन जोगाउन नागरिक स्वयमले पनि न्यूनतम सुरक्षाका मापदण्ड अपनाउनुपर्छ।’
प्रतिक्रिया