समाज


बाढीले बगाउँदा म्याग्दीमा एकजना बेपत्ता, सडक, पुल र मन्दिर पनि बगायो

बाढीले बगाउँदा म्याग्दीमा एकजना बेपत्ता, सडक, पुल र मन्दिर पनि बगायो

नेपालखबर
साउन ६, २०७७ मंगलबार ३:९,

बाढीले बगाउँदा म्याग्दीमा एक जना वेपत्ता भएका छन्। अन्नपूर्ण-३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिए।

निरन्तरको वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीका विभिन्न ठाउँमा सडक, तीनवटा मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुईवटा मन्दिर पनि बगाएको छ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ।

बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ।

रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो। घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो। रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ।

मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्स्ट्रक्शनको एक एक्साभेटर र पार्किङ गरेर राखिएको बस बगाएको छ। सोमबार दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्सेखोलामा ठूलो बाढी आएको थियो । विश्वकै गहिरो अन्धगल्छी आसपासमा रुप्सेखोला कालीगण्डकीमा मिसिन्छ।

कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ । दानाका स्थानीयवासी जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । रुप्से ब्लक उद्योग पनि बगाएको छ। दानामा निर्माणाधीन २२० केभी क्षमताको विद्युत् सवस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ।

अन्नपूर्ण गाउँपालिका-२ भुरुङ–तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी र रेडक्रसको भवनलगायत ३० भन्दा बढी घर जोखिममा परेका छन् । नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तीतर्फ कटान गरेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए।

जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। कालीगण्डकी र रघुगङ्गा नदीको दोभानस्थित जलजला गाउँपालिका-२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ।

बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाइसकेको छ । कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ।

राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडौं सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको छ । सडक, मोटरेबल र झोलुङ्गे पुल बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावत बन्द भएको दानाका गङ्गा पुनले बताए।

यसअघि गत असार २५ गते रघुगङ्गा नदीमा आएको बाढीले गलेश्वरको बेलिब्रिज भत्काएपछि अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक धेरै ठाउँमा पहिरो र बाढीले बगाएकाले पूर्णरूपमा सिधा यातायात सञ्चालनका लागि थप समय लाग्ने देखिएको छ।

धवलागिरि हिमालको आसपासका क्षेत्रमा भारी वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगङ्गा नदी र सहायक खोलामा बाढीको सतह बढेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। म्याग्दीका प्रमुख यी तीनवटै नदीको पानीको स्रोत हिमालहरु हुन्।

म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई सामानसहित सुरक्षित ठाउँमा सारिएको जानकारी दिए।

कालीगण्डकी नदीको किनारमा रहेको भुरुङ–तातोपानीको तल्लोबजार, तिप्ल्याङ र बेनीको कालीपुलका बासिन्दालाई रातमा सुरक्षित ठाउँमा गएर सुत्न तथा दिउँसोसमेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad