समाज


भारतीय बाँधका कारण बाँकेको नरैनापुरका गाउँ डुबानमा

भारतीय बाँधका कारण बाँकेको नरैनापुरका गाउँ डुबानमा

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ७:३२,

एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ।

डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गंगापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन्।

बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरु डुबानमा पर्दै आएका हुन्। भारतले कटकुइँयादेखि पश्चिमतर्फ विस्तार गरेको सडकजस्तो बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ। ‘बर्खा शुरु भएपछि त्रास मै बाँच्ने गरेका छौँ, जीउने मर्ने ठेगान छैन’, नरैनापुर गाउँपालिका–१ महतनियाकी ७० वर्षीय साबिरा सिखानीले भनिन्, ‘पानी परेको दिन कोठामा पानी भरिन्छ।’ उनका अनुसार चारैतिरबाट जम्मा भएको पानी आँगनमा जम्मा हुन्छ। गाउँले घरबाट निस्कन पाउँदैनन्। छत हुनेहरु छतमा बसेर गुजारा चलाउँछन्। घरबाट निस्कनसमेत पाउँदैनन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका १०० बढी घर डुबानको जोखिममा रहेको बताए। लक्ष्मणपुर बाँध र कलकलवाका कारण अहिलेसम्म त्यस क्षेत्रमा चार हजार बिघा बढी खेतीयोग्य जमीन मरुभूमि भइसकेको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका कार्यवाहक अध्यक्ष राजकुमार शुक्लाले बताए।

लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका कार्यवाहक अध्यक्ष शुक्लाले भने, ‘सरकार भारतसँग कुरा उठाउन सक्दैन। अन्तरराष्ट्रिय कूटनीतिक पहल भएको देखिएन।’ भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँध १४ ढोका छन् र भारतको मनौला पुर्वा गाउँदेखि लक्ष्मणपुर कलकलवा तटबन्धले गर्दा पूरै गाउँ डुबानमा पर्दै आएका छन्।

पछिल्लो वर्षदेखि दशगजामा विस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका दक्षिणी भेगका सबै मानिस डुबानको जोखिममा छन्। उनले भने, ‘यसबारे गुनासो गरिरहेका छौँ। सरोकारवालाहरु हाम्रो कुरा सुन्दैनन्।’ लामो समयपछि नेपालगन्ज क्षेत्रमा पानी परेको छ। भारतले दशगजामा बनाएको बाँधले पानीको प्राकृतिक बहाव रोकिदिएर नेपालगन्जसमेत डुबानमा पर्ने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad