कोरोना संक्रमणको कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ।
पछिल्लो मृत्युसँगै पर्सामा मात्रै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।
वीरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो।
अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार मृत्युपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो। पर्सामा यसअघि ज्यान गुमाउने अधिकांश संक्रमितमा पनि मृत्युपछि मात्रै परीक्षण गरिएको थियो।
स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार राति उनलाई नारायणी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। स्वास्थ्यकर्मीका अनुसार उनी उच्च रक्तचाप र थाइराइडबाट समेत पीडित थिइन्।
यसैबीच पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका मध्ये १६ पुरुष र ६ जना महिला छन्। नारायणी अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारी, प्रहरीलगायतमा पनि कोरोना संक्रमण देखिएको छ।
समुदायमै कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा विगत दुई सातादेखि निषेधाज्ञा छ।
Shares

प्रतिक्रिया