अफ्रिकी देश अंगोलाका नागरिकले नेपाली युवतीबाट लाखौं रुपैयाँ ठगेको पाइएको छ।
युवतीको इन्स्टाग्राममा चिनजान गरी लण्डनको डाक्टर बताउने ४८ वर्षीय सिल्भा एन्टोनिओ डा कोस्टाले ४८ लाख ५४ हजार ४२० रुपैयाँ ठगेको पाइएको हो।
महानगरीय अपराध महाशाखाले युवतीको उजुरीपछि २०७६ फागुन २४ गते नेपाल आएका कोस्टालाई पक्राउ गरेको छ।
इन्स्टाग्राममा मार्की आरोन नाम राखेका ती व्यक्तिले लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र नेपाल आएर युवतीसँग बिवाह गर्ने बताएका थिए।
नयाँ बर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको बताउँदै युवतीलाई भन्सार छुटाउनका लागि २० लाख रुपैयाँ माग गरेका थिए।
उनले बोलाएपछि बानेश्वरको एभरेष्ट होटलमा युवती पुगे पनि उनले फेरि होटल सोल्टीमा बोलाए। तर त्यहाँ पुग्दा पनि उनी त्यहाँ नभएको पाइएपछि युवतीले प्रहरीलाई जाहेरी दिएकी थिइन्।
सामानको पार्सलको फोटो समेत पठाई प्रलोभन देखाई भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम आवश्यक प¥यो भनी पटक–पटक गरी ४८ लाख ५४ हजार ४२० रुपैयाँ लिएको युवतीले बताएकी छन्।
अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि ठमेलस्थित उनी बसेको होटलका कोठा खानतलासी गरेको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले शुक्रबार मात्रै अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ ठगेको पाइएको छ।
अनुसन्धानका क्रममा उनीसँग नक्कली नोट बनाउने सामान पनि भेटिएको छ। नक्कली नोट बनाउन प्रयोग हुने केमिकल तथा कागज समेत बरामद गरिएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।
उनको सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको महाशाखाले जनाएको छ।
काठमाण्डौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको छ।
उनको साथबाट प्रहरीले ३ लाख १५ हजार ७४५ रुपैयाँ, ९ सय अमेरिकी डलर, एटीएम कार्डहरु, पाउडरको बट्टाहरु, ल्यापटप, एक हजारका नेपाली नक्कली नोट, बिभिन्न केमिकलहरु लगायत सामान बरामद भएको छ।

प्रतिक्रिया