समाज


स्वास्थ्य मन्त्रालय भन्छः खोप नआउञ्जेल लकडाउनको विकल्प छैन

स्वास्थ्य मन्त्रालय भन्छः खोप नआउञ्जेल लकडाउनको विकल्प छैन

यज्ञराज जोशी
भदौ १७, २०७७ बुधबार ११:२८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खोप नआउँदासम्म लकडाउन तथा निषेधाज्ञासहितको हालकै रणनीति अपनाएर कोरोना नियन्त्रण गर्नुपर्ने पक्षमा देखिएको छ।

नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बढी संक्रमित देखिएका स्थानमा लकडाउन तथा निषेधाज्ञा लागू गरिँदै आएको छ। गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित हाल देशका ४० जिल्लाका विभिन्न भूभागमा लकडाउन तथा निषेधाज्ञा गरिएको छ।

लकडाउनले अर्थतन्त्र धरासायी बनेको र जीविकोपार्जनमा समस्या उत्पन्न भएकाले वैकल्पिक उपाय गरिनुपर्ने आवाज उठिरहेको बेला स्वास्थ्य मन्त्रालय भने नयाँ उपाय केही नभएको बताउँछ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम संसारभर नै कोरोना रोकथाम तथा नियन्त्रणमा यिनै उपाय अपनाइएको जिकिर गर्दै आवश्यक परेका ठाउँमा पुनः लकडाउन हुने बताउँछन्।

‘संसारमै ननिस्किएको अरु के नयाँ उपाय छ र मन्त्रालयले अपनाउने?’ गौतमले भने, ‘यो कुरा विगतदेखि नै हामीले भन्दै आएका छौं। आवश्यक पर्ने ठाउँमा लकडाउन गर्ने हो।’

संक्रमण बढ्न नदिन सबैले जनस्वास्थ्यका मापदण्डको पालना गर्नुको विकल्प नभएको उनको भनाइ छ।

‘अहिले जसरी उपचार गरिरहेका छौं, यसलाई अझै प्रभावकारी बनाउँछौं। तर भ्याक्सिन ननिस्किएसम्म यो रोगको कुनै उपाचार छैन,’ प्रवक्ता गौतमले थपे, ‘दूरी कायम गर्ने र मास्क लगाउने काम गरौं। नत्र मरिन्छ।’

मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले पनि यो रोग व्यक्तिको भेटघाट, चहलपहलबाट फैलने भएकाले सबैले जनस्वास्थ्यका मापदण्ड व्यवहारमा लागू नगरेसम्म निषेधाज्ञाको विकल्प नभएको बताए।

‘जनजीवन कष्टकर बन्यो भनेर थाहा पाउने मान्छेले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्यो नि! बजारमा निस्किँदा चिउँडोमा मास्क लगाउने, गफ गरेर बस्ने, दूरी कायम नगर्ने कार्य अझै भइरहेको देखिन्छ’ उनले भने, ‘भारइस सर्ने यस्तै क्रियाकलापबाट हो। सबैले नाक र मुख छोपेर मास्क नलगाउञ्जेल, जनजीवन कष्टकर बनोस् कि भोकै मरुन्, संक्रमण रोक्न निषेधाज्ञा लगाउनेबाहेक अरु के विकल्प छ र?’

उनले नागरिकहरु अनुशासित नभए, सरकारको अनुरोधको पालना नगरे नेपालजस्तो देशका लागि कोरोना संक्रमण ठूलो समस्या बन्ने गरेको बताए। एक व्यक्तिलाई अर्को व्यक्तिसँग भेटघाट हुन नदिने रणनीति लिनुपर्ने अवस्था आएको उनको भनाइ छ।

नेपालमा खोप कहिले?
नेपालमा कोरोनाविरुद्धको खोप आउन कम्तीमा डेढवर्ष लाग्नसक्ने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बताउँछन्। त्यसबेलासम्म जनस्वास्थ्यका मापदण्ड अनाउँदै यसैसँग बाँच्न सिक्नुपर्ने उनले बताए।

‘कोरोनाभाइरसको महामारी कहिलेसम्म रहला भन्न सकिने अवस्था छैन। डब्लूएचओले २०२१ को डिसेम्बरसम्म रहनसक्ने अनुमान गरेको छ,’ पोखरेलले भने, ‘अझै लामो समय जानसक्ने भएकाले अब हामीले यसैसँग बाच्न सिक्नुपर्छ। यसलाई फैलन नदिन हाम्रो व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ। त्यसो गर्नसक्यौं भने यसले आर्थिक सामाजिक रुपमा जुन दुःख दिएको छ त्यसबाट छुटकरा पाउनसक्छौं।’

पोखरेलले विश्वमा खोप निर्माण भएसँगै नेपालले त्यसको प्राप्तिका लागि लबिङ जारी राखेको र बजेट समेत छुट्टाएको बताए।

‘हामीले डब्लूएचओ लगायत सरोकारवालासँग भ्याक्सिन आउँदा नेपालले पनि छिटो पाउनुपर्नेमा आन्तरिक लबिङ गरिराखेका छौं,’ उनले भने, ‘बजारमा उपलब्ध हुँदा खरिदका लागि बजेट समेत छुट्टाएका छौं।। निक्लने बित्तिकै हामीले पाउने विश्वास छ।’

‘समुदायस्तरमा फैलिएको छैन’
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा मंगलबार जनस्वास्थ्य वैज्ञानिक तथा मन्त्रालयका सल्लाहकार समेत रहेका डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको बताएका थिए।

तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा रहेकाले यी जिल्लामा नियन्त्रण र परीक्षण दायरालाई बढाउन पर्ने बताएका थिए।

तर, मन्त्रालयकै विज्ञ सल्लाहकार कार्कीले भने विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार दक्षिण एसियामा बंगलादेशमा मात्रै समुदाय स्तरमा कोरोनाभाइरस फैलिएको बताए।

‘दक्षिण एसियामा बंगलादेशबाहेक अन्य मुलुकमा पकेट पकेटमा संक्रमण देखिएको छ,’ उनले भने, ‘नेपालमा पनि काठमाडौं उपत्यका, प्रदेश २ का जिल्लाहरु, मोरङ, कैलाली, झापामा देखिन्छ। यो भनेको क्लस्टर अफ केसमात्रै हो। समुदायमा फैलिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .