समाज


जहाँ छरछिमेकले संक्रमितको मनोबल बढाउँछन्

जहाँ छरछिमेकले संक्रमितको मनोबल बढाउँछन्

यज्ञराज जोशी
भदौ २७, २०७७ शनिबार १२:१४,

कोरोना संक्रमित भएपछि छरछिमेक, आफन्तको व्यवहार कस्तो हुने हो? भन्ने चिन्ताले बुटवल उपमहानगरपालिका वडानम्बर १३ का विवेक भुसाललाई सताइरहन्थ्यो।

उनीसहित परिवारमा तीनजनालाई संक्रमण देखिएको थियो। देशभर कोरोना संक्रमितप्रति सामाजले घृणाभाव राख्ने गरेको खबरबारे उनी जानकार थिए। सामाजले पनि आफू र आफ्नो परिवारप्रति नकरात्मक धारणा राख्ने हो कि? भन्ने चिन्ता उनको मनमा परेको थियो।

तर संक्रमण भएर होम आइसोलेसनमा बस्दा उनले कहिल्यै छरछिमेकको दुव्यर्वहार खेप्नुपरेन। न त उनको परिवारप्रति कसैले घृणाभाव नै राखे।

२१ दिन होम आइसोलेसन बसेर निको भएपछि शनिबार छरछिमेकले नै फुलगुच्छासहित उनी र उनको परिवारलाई स्वागत र स्वास्थ्यलाभको कामना ग¥यो। स्थानीयको सौहार्दपूर्ण व्यवहारबाट भुसाल खुशी देखिए।

‘देशभरी संक्रमितप्रति मानिसहरुले फरक दृष्टिकोणले हेर्ने, घृणाभाव राख्ने खबर सुनिन्थ्यो। हामीप्रति पनि कसैले त्यस्तै भाव राख्ने त हैन भन्ने मनमा चिन्ता लाग्थ्यो,’ उनले भने, ‘तर हामी आइसोलेसनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पायौं। अहिले निको हुँदा सबैले सौहार्दपूर्ण रुपमा स्वास्थ्यलाभको कामना दिनुभयो। सबैप्रति आभारी छु।’

उनको परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले ताली बजाएर बधाई दिएका थिए। साथै भुसालले स्थानीयकै हातबाट डिस्चार्जकोे पत्र समेत ग्रहण गरे।

‘कोभिड–१९ को कुनै औषधि नभएकाले आत्मविश्वास राख्नु र बिरामीको हौसला बढाउनु नै मुख्य कुरो हो,’ उनले थपे, ‘बिरामी भएका बेला आफन्त, छरछिमेकको साथ चाहिने हुन्छ। सबैको हौसलाले आत्मबल बढ्छ र रोग छिटो परास्त गर्न मद्दत मिल्छ। सबैलाई संक्रमितको मनोबल गिर्ने कुनैपनि काम नगरीदिन हुन अनुरोध गर्दछु।’

Butwal Isolation discharge 1होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था बुझ्न घरमा पुगेका मेयर सुवेदीसहितको टोली।

उनीजस्तै निको भएका संक्रमितहरुले पनि मनोबल उच्च राख्दै आफूहरुले कोरोनालाई परास्त गर्नसकेको अनुभव सुनाउँदै आएका छन। चिकित्सकहरुले पनि कोरोनालाई पराजित गर्न आत्मबल उच्च राख्नुपर्नेमा जोड दिदैँ आएका छन।

तर नेपालमा प्रायः संक्रमितहरुको अनुभवमा उनीूहरुमाथि समाज, छरछिमेक, आफन्तले फरक व्यवहार गरेको, मनोबल गिराउने काम भएको अनुभव सुनाउँदै आएका छन।

चितवनमा चिकित्सकको घरमा नै ब्यानर टाँस्ने, मनोवैज्ञानिक रुपमा त्रास फैलाउने, काठमाडौंमा होस्टल क्वारेन्टिनमा स्वास्थ्यकर्मी राखेको भन्दै विरोध गरिएका घटनाहरु यस्ता केहि उदाहरण हुन्।

तर बुटवलमा भने कोरोना संक्रमितविरुद्ध हुने घृणाजन्य व्यवहार परिवर्तन गराउन स्थानीयहरुलाई नै परिचालित गरिएको नगरप्रवक्ता रामप्रसाद रेग्मी बताउँछन।

‘सुरुवातमा संक्रमित भनेपछि टाढै बस्ने, डराउँने, छिःछिः दूर दूर गर्ने किसिमका व्यवहारहरु भए,’ रेग्मीले भने, ‘तर यसविरुद्ध स्थानीयलाई नै परिचालन गरेपछि अहिले कोरोना भनेको सामान्य ज्वरो हो। यो लागेका मानिसप्रति कुनै दुर्व्यवहार गर्ने, हिनताबोध गराउने कुरा गर्नुहुँदैन भन्ने सबैले बुझ्नुभएको छ।’

उपमहानगरपालिकामा शुक्रबारसम्म ४ सय ८० जना संक्रमित भेटिएका छन। त्यसमध्ये २४७ जना सक्रिय संक्रमित छन।

सक्रिय संक्रमितमध्ये आधाजसो होम आइसोलेसनमै रहेको रेग्मीले जानकारी दिए। तर घरमा बस्दा संक्रमित र उनको परिवारलाई घृणा गर्ने मनोबल घटाउने काम कहीँकतैबाट पनि नभएको उनको दाबी छ।

‘हामीले ४–५ सय टोल विकास संस्थामार्फत स्थानीयलाई नै त्यहाँको कोरोना विपद्विरुद्ध खटाएका छौं,’ रेग्मीले थपे, ‘वडाअध्यक्षसहितको स्थानीय व्यक्तिहरुले नै जनचेतना, उपचार, व्यवस्थापन तथा डिस्चार्जमा सहभागिता जनाउनुहुन्छ। अहिले आफ्नै छिमेकमा संक्रमित भएपनि कसैले अप्ठ्यारो मान्नुहुन्न। बरु के आवश्यक पर्छ सहयोगका लागि अघि सर्नुहुन्छ।’

वडाअध्यक्ष तथा वडाप्रतिनिधिले दिनहुँ जसो संक्रमितको हालखबर बुझ्ने, रोगप्रतिरोधि क्षमता बढाउने मानिएका आर्युवेदिक औषधिहरु पनि दिने गरिएको उनले बताए। संक्रमितहरु पनि आफूहरुको अवस्था बुझ्न दैनिक पुग्दा अभिभावक आएको जस्तै महसुस गर्ने गरेको उनको भनाइ छ।

उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले घरमा बस्ने बिरामीलाई भेदभावपूर्ण व्यवहार नहोस् भनी आफूले घर घरमै गएर संक्रमितहरुलाई भेटेको बताए।

‘लक्षण नदेखिएका बिरामीहरु घरमै बस्ने नियम छ। त्यसो हुँदा समाज र समुदायले उनीहरुप्रति भेदभावपूर्ण व्यवहार गर्न हुँदैन भन्ने सन्देश दिन म आफै घरदैलो अभियानमा सक्रिय भएको छु,’ उनले भने, ‘हामी स्वयं उपस्थित भएर बिरामी भेट्दा उनीहरुको मनोबल पनि उच्च हुन्छ भने समाजले गर्ने व्यवहार पनि फेरिएको छ।’

होम आइसोलेसनमा रहेकालाई भेटघाटको क्रममा उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै, स्वास्थ्य सावधानीका उपायहरु बताउने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधिहरु दिने गरेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .