समाज


स्वयम्भू क्षेत्र बन्यो काठमाडौंको नयाँ हटस्पट

स्वयम्भू क्षेत्र बन्यो काठमाडौंको नयाँ हटस्पट

यज्ञराज जोशी
असोज १, २०७७ बिहिबार ११:३७,

काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढिरहँदा राजधानीको स्वयम्भू क्षेत्र नयाँ हटस्पटका रुपमा देखिएको छ।

यसअघि काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी कोटेश्वर र बालाजु प्रभावित बनेका थिए। केहि दिनयता स्वयम्भू क्षेत्र नयाँ हटस्पटका रुपमा देखिएको हो।

महानगरको वडानम्बर १५ मा पर्ने स्वयम्भूमा मंगलबारसम्मको तथ्यांकअनुसार ५ सय ६४ संक्रमित भेटिइसकेका छन।

बुधबारको तथ्यांक आउन अझै बाँकी रहेकोले संक्रमित संख्या अझै थपिने महानगरका कोभिड–१९ फोकल पर्सन ज्ञानबहादुर ओलीले जानकारी दिए।

सो वडामा सक्रिय सक्रमितको संख्या समेत ४५१ रहेको छ। हालसम्म ११२ जना निको भएर घर फर्किसकेका छन भने एकजनाको निधन भइसकेको छ।

यो महानगरका ३२ वडाहरुमध्ये पाँच सय संक्रमित संख्या कटेको यो एकमात्रै क्षेत्र हो। यसबाहेक बालाजु क्षेत्र रहेको वडानम्बर १६ मा ४ सय १५, कोटेश्वर क्षेत्र रहेको वडानम्बर ३२ मा ३ सय २५ जनामा संक्रमण भेटिएको छ।

अघिल्लो हप्ता १०६ जनाको परीक्षण गर्दा स्वयम्भू क्षेत्रमा ३५ जनालाई एकैपटक संक्रमण देखिएको थियो। वडाअध्यक्ष इश्वरमान डंगोलले घरभित्रै रहेका परिवारका सदस्यहरुबीच संक्रमणको दर तीव्र रहेको र नागरिकहरुबाट पनि हेलचक्र्याईं बढी भएका कारण संक्रमण छिटो फैलिएको बताए।

‘एउटा घरमा एकजनालाई देखिएपछि त्यो घरभरि नै देखिने गरेको छ। अहिले अधिकांश संक्रमित त्यस्तै छन्,’ डंगोलले भने, ‘मास्क नलगाउने, दूरी कायम नगर्ने जस्ता हेलचक्र्यार्इंले अहिले स्थानीयहरुमै संक्रमण तीव्र बनेको छ।’

वडाकी स्वास्थ्यकर्मी उमाकुमारी बस्नेतका अनुसार सो क्षेत्रका डल्लु आवास क्षेत्र, बनस्थलीबाट भित्रपट्टी पर्ने चमती, भगवानपाउ क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन। यी क्षेत्रमा ६० देखि १०० जनासम्म संक्रमित भेटिएको उनले जनाइन्।

उनले भनिन्, ‘वडाका सबैभन्दा भीडभाड हुने ठाउँ, घुचमुच्च परेको बस्ती, दैनिक काम गरेर खाने वर्गहरुमा बढी संक्रमण देखिएको छ।’

जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको संक्रमितको संख्याअनुसार वडा स्वास्थ्यकर्मीहरुले उनीहरुको अवस्था बुझ्न, कन्ट्याक्ट ट्रेसिङका लागि फोन गर्ने गर्छन। तर यसरी सम्पर्क गर्दा यी क्षेत्रमा ३० प्रतिशत सक्रमितहरु सम्पर्कमा नआएको बस्नेतले बताइन।

‘दैनिक उपलब्ध हुने तथ्यांकमध्ये ३० प्रतिशत संक्रमित सम्पर्कमै आउँदैनन्। कोहीले फोन उठाउँदैनन्, कसैले गलत नम्बर, ठेगाना टिपाएका हुन्छन,’ बस्नेतले भनिन।

नेपाली सेनाको वीरेन्द्र अस्पताल पनि यस क्षेत्रमा पर्ने भएकाले यहाँ बढी संक्रमित देखिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार वीरेन्द्र अस्पताल छाउनीमा हाल ८४ जना कोरोना संक्रमित उपचाररत् छन।

त्यसबाहेक वडाका १ सय २१ जना संक्रमित होम आइसोलेसनमा, ५३ जना अस्पताल र २ सय ७७ जना संस्थागत आइसोलेनमा रहेका छन।

वडामा छुट्टै आइसोलेसन सेन्टर नभएका कारण संक्रमितहरुको व्यवस्थापनमा समस्या हुने गरेको छ। संक्रमित दिनप्रतिदिन बढिरहेकाले तत्काल वडाको छुट्टै आइसोलेसन आवश्यक रहेको स्वास्थ्यकर्मी बस्नेतले बताइन्।

अन्य स्थानको अवस्था कस्तो?
काठमाडौं महानगरपालिकाका सबैजसो स्थानमा संक्रमितहरु थपिने क्रम जारी छ। मंगलबारसम्म महानगरमा ६ हजार २९ जनामा संक्रमण पुष्टि भइसकेको थियो। जसमध्ये सक्रिय संक्रमितको संख्या ३ हजार ३९७ रहेको छ।

पछिल्लो समय महाराजगञ्ज, त्रिपुरेश्वर, कालिमाटी, बागबजारमा संक्रमितको संख्या बढ्दो छ। महाराजगञ्ज क्षेत्र रहेको वडानम्बर ३ मा ३ सय ७३, त्रिपुरेश्वर क्षेत्रस्थित वडानम्बर ११ मा ३२९, कालिमाटी क्षेत्र अवस्थित वडानम्बर १३ मा ३०१, बागबजार क्षेत्र अवस्थित वडानम्बर २८ मा ३२१ जना संक्रमित पुगेका छन।

यस्तै मित्रपार्क क्षेत्रमा २०८, गौशालामा १४८, जयवागेश्वरीमा १४८, कलंकी, बल्खु क्षेत्र पर्ने वडानम्बर १४ मा २७० जना, डिल्लीबजार क्षेत्रमा १६७, शान्तिनगरमा क्षेत्रमा १२५, बानेश्वर क्षेत्रमा १४५, नक्सालमा १४१ र लैनचौरमा १७८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा वडाअनुसार संक्रमितहरुको भदौ ३१ सम्मकाे विवरणः

ward-details.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .