एमबीबीएस उत्तीर्णका लागि नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा २२ प्रतिशत डाक्टर फेल भएका छन्। आइतबार प्रकाशित परीक्षाफलअनुसार बीडीएसमा सबैभन्दा बढी ६१ प्रतिशत डाक्टरले लाइसेन्स परीक्षा फेल गरेका छन्।
एमबीबीएसतर्फ शनिबार सञ्चालित परीक्षामा १ हजार ६८१ ले नाम दर्ता फारम भरेका थिए। ती मध्ये १ हजार ३११ जना अर्थात् ७८ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा ढुण्डिराज पौडेलले जानकारी दिए।
काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाउने छैनन्। पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भएको छ। काउन्सिल परीक्षामा फेल हुनेहरूमा बंगलादेश तथा चीनमा पढेर फर्किएकाहरू अत्यधिक छन्।
यसैबीच नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा बाबुराम मरासिनीलाई दिइएको छ। निर्वाचन माघ महिनामा हुँदैछ। केन्द्रीय सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नेछन्।
संघको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८औँ सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए। संघमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन्। रासस
Shares

प्रतिक्रिया