बेलायतका वैज्ञानिकले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै छ।
बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने वैज्ञानिकहरुको भनाई छ।
सङ्क्रमित विरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा छ। पहिलो चरणमा १० व्यक्तिलाई बेलायतमा उक्त औषधि दिइएको छ।
यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले जनाएका छन्।
प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ । साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ।
बेलायतको यूनिभर्सिटी कलेज लन्डन हस्पिटल्स (यूसीएलएच) एनएचएस ट्रस्टमा भइरहेका परीक्षणमा दुई भिन्न प्रकारका एन्टिबडी तत्त्वहरूलाई सुईमार्फत् दिँदा कोभिडको सम्पर्कमा आएका मानिसहरूलाई बिरामी हुनबाट वा कम्तीमा सिकिस्त बिरामी हुनबाट जोगाउन सकिन्छ कि भनेर हेरिनेछ।
कोरोना भाइरसको सम्पर्कमा आएमा व्यक्तिलाई तत्काल खोप दिएर यसले काम गर्न केही साता लाग्ने तर यो औषधिले अपेक्षाकृत सफलता पाएमा उनीहरूका लागि यो वरदान बन्नेमा विज्ञहरु आशावादी देखिएका छन्।
एस्ट्राजेनेकाले विकास गरेको यो मनोक्लोनल एन्टिबडी उपचारले तत्काल त्यस्ता भाइरसलाई निस्तेज बनाउन थाल्छ । अनि यसले कम्तीमा एक वर्षसम्म उक्त व्यक्तिलाई सुरक्षा प्रदान गर्न सक्ने औषधि निर्माता कम्पनीका अधिकारीले बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया