समाज


ट्याक्सी जलाइएपछि चालक भन्छन्ः अब के गरी खाने होला?

ट्याक्सी जलाइएपछि चालक भन्छन्ः अब के गरी खाने होला?

यज्ञराज जोशी
माघ २२, २०७७ बिहिबार ११:२८,

बिहानै ट्याक्सी लिएर निस्कनु, दिनभरी यात्रुलाई उनीहरुको गन्तव्यमा पुर्‍याउनु, साँझ कमाएको पैसाबाट परिवारको नुनतेल जोहो गरी कोठा फर्किनु।

धादिङ घर भई काठमाडौँको बिजुलीबजारमा बस्ने ४१ वर्षीय कुम्भनारायण श्रेष्ठको दैनिकी बुधबारसम्म यही थियो। त्यही ट्याक्सीबाट उनका तीन छोराछोरीको लालनपालन, उनीहरुको पढाइ, आफू र श्रीमतीको खर्च उनले धानिरहेका थिए। ट्याक्सी अझै साहुकै नाममा थियो। त्यसैले कमाइको एक हिस्सा साहुले लिन्थे।

तर, बिहीबार बिहान उनले नसोचेको घट्ना बेहोर्नुपर्‍यो। श्रेष्ठलाई देशमा कहाँ के भइरहेको छ, केही थाहा थिएन। नेकपाले आह्वान गरेको आमहड्तालबारे उनलाई केही थाहा थिएन।

बुधबार अबेर यात्रु बोकेर घर फर्केका उनी बिहीबार बिहानै यात्रु बोक्न थापाथली पुगेका थिए। थापाथलीबाट उनले एक यात्रुलाई म्हैपी पुर्‍याए। त्यसबेला ती यात्रुले ‘आज बन्द छ’ भने। बल्ल हड्तालबारे श्रेष्ठले थाहा पाए।

श्रेष्ठका अनुसार त्यसअघि उनलाई हड्तालबारे केही थाहा थिएन।

‘आज बन्दबारे त मैले थाहै पाएको थिइनँ,’ नेपालखबरसँग श्रेष्ठले भने, ‘थापाथलीबाट आएका यात्रुले भनेपछि बल्ल थाहा पाएँ। तर बाटोमा गाडी चलेकै देखेको थिएँ। त्यसैले ती यात्रुलाई गन्तव्यमा पुर्‍याएँ।’

बिहानै बाहिरको अवस्था सामान्यझैँ लागेपछि उनले म्हैपीमा पाएका अर्का यात्रुलाई कपुरधारा पुर्‍याए। कपुरधारा पुग्दा करिब साढे ६ बजेको थियो।

No description available.

त्यहाँबाट उनी यात्रु खोज्दै गोंगबु बसपार्कतिर मोडिए। उनका अनुसार बाटोमा उभिएका दुई जनाले उनलाई हात दिए।

यात्रु भन्ठानेर श्रेष्ठले गाडी रोके। रोक्नेमध्येका एकले सोधे– ‘चाबहिल जाने हो?’

श्रेष्ठले बस्नुस् भन्दै मिटर चलाउन थाले।

‘एकजना चढेपछि म मिटर डाउन गर्न थालेँ। त्यो मान्छे झरेर अर्को मान्छे चढ्न थालेको झैँ गर्‍यो,’ श्रेष्ठले भने, ‘त्यो मान्छेले गाडीभित्र पेट्रोल छर्केर झरेको रहेछ। लगत्तै बाहिर रहेको अर्कोले सलाई कोरेर गाडीमा हान्यो। पछाडिको सिटमा ह्वार्रर आगो बाल्न थाल्यो। म त के गर्ने गर्ने, एकदमै आत्तिएँ।’

गाडीमा सलाई कोरेर ती दुई जना गायब भइसकेका थिए। दनदनी आगो बल्न थालेपछि श्रेष्ठले केही सोच्न सकेनन्।

‘पछाडि जलेको सिटको तातो मलाई आइसकेको थियो। आत्तिएर मैले सिटबेल्ट नै छिटो खोल्न सकिनँ,’ उनी भन्छन्, ‘म ट्याक्सीबाट उत्रिनुअघि पछाडिको सिट र गलौचामा आगो लागिसकेको थियो। अलि ढिलो भए मेरो शरीरमा पनि लाग्थ्यो।’

सबैरै भएकाले वरिपरि कोहीपनि थिएनन्। सिटको गलैँचा बाहिर निकालेर आगो निभाउन खोजे।

गाडीमा आगो दन्किएको देखेर गोंगबुमा रहेका प्रहरीहरु केही मिनेटमा आए, वरपर बस्नेहरु पनि जम्मा भए। नजिकैका घरबाट मोटरको पाइप तानेर आगो निभाउने प्रयास गरियो। त्यतिञ्जेलसम्म ट्याक्सी क्षतविक्षत अवस्थामा पुगिसकेको थियो।

No description available.

प्रहरी आएपछि श्रेष्ठले घटनाबारे बेलिबिस्तार लगाए। प्रहरीले केहीबेर आगो लगाउनेहरुलाई पनि खोजी गर्न थाल्यो। तर, अहिलेसम्म पनि आगो लगाउनेबारे केही पत्ता नलागेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बताए।

आगो निभाएपछि प्रहरीले गोंगबु वृत्तमा गाडी लगेर राखेको छ। श्रेष्ठले भने गाडी साहुलाई फोन गरेर सबै कुरा सुनाए। केहीबेरमा पुगेका साहुले जे भयो भयो चिन्ता नगर भन्दै ढाडस दिएपछि श्रेष्ठले केही हलुका महसुस गरेका छन्।

तर, आफ्नो गरिखाने भाँडोमा नै आगजनी भएपछि अब के गर्ने होला भन्ने पिरले उनलाई सताएको छ।

‘मैले जानेको नै यही ट्याक्सी चलाउन थियो। यतिका वर्ष यही ट्याक्सीबाट आफ्नो र परिवारको पेट पाल्दै आएको थिएँ,’ श्रेष्ठले भने, ‘उनीहरुले यात्रु बनेर झुक्याएर आगो लगाए। आज बन्द थियो भनेर सम्झाएको भए पनि म गाडी थन्काएर सरकार घर आउँथेँ।’

सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नकेपाले आजका लागि आम हड्ताल घोषणा गरेको थियो।

उक्त समूहले भने उक्त गाडी आफ्नो समूहले नजलाएको दाबी गरेको छ। घुसपैठ भएको हुनसक्ने सो पार्टीको भनाइ छ। पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले उच्छृंखल, अराजक, असभ्य तरिकाले आफूहरु प्रस्तुत नभएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .